जेनजी आन्दोलनको क्रममा देशको केन्द्रीय कारागारबाट भागेका १९ जना कैदीहरुलाई ०८२ भदौ २९ गते कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट गिरफ्तार गरेको छ ।
गिरफ्तार गरिएकाहरुमा सल्यान बनगार्ड कुपिण्डेका बलात्कार मुद्दाका तुल्सी बहादुर राना, बर्दियाका पृथ्ये भन्ने पृथ्वी परियार, प्यूठान जिल्ला प्यूठान नगरपालिका– १ का राजकुमार परियार भन्ने राजकुमार नेपाली, महाराजगञ्ज नगरपालिका– ३ कपिलवस्तुका सरिफ अलि फकिर, काठमाडौँका सुरज भण्डारी, नेपालगञ्ज उपमहानगरपालिका बाँकेका ईसरार अलि खान भन्ने ईसरार अलि शेष, सरुमहारानी गाउँपालिका– १ प्यूठानका सागर बेल्बासे, सुनछहरी गाउँपालिका– ७ रोल्पाका धनिराम रोका मगर, चोरीमा नेपालगञ्ज उपमहानगरपालिका– ५ बाँकेका प्रकाश राना क्षेत्री, कर्तव्य ज्यान मुद्दाका भेरी नगरपालिका– १ जाजरकोटका बलबहादुर बि.क, सुनिलस्मृति गाउँपालिका– ६ रोल्पाका जनक महरा, बुद्धभुमी नगरपालिका– ८ कपिलवस्तुका अनिल कुमार श्रेष्ठ, गुल्मीका अर्जुन गैरे भन्ने आत्माराम नेपाली, वाणगंगा नगरपालिका– ६ कपिलवस्तुका तिलकराम थारु, सिद्धार्थनगर नगरपालिका– ६, रुपन्देहीका करन कारुश, लागु औषध सिद्धार्थनगर नगरपालिका–९, रुपन्देहीका गगनजंग बहादुर गुरुङ्ग, राजपुर दाङका राजकुमार यादव र कर्तव्य ज्यान मुद्दाका मार्मा गाउँपालिका २ दार्चुलाका बसन्त लोहार लगायत रहेको जिल्ला कारागार कपिलवस्तुका निमित्त प्रमुख रेशमलाल भुसालले बताउनु भयो ।
त्यसैगरी कपिलवस्तु कारागारमा जम्मा ४ सय ७० जना कैदी बन्दीहरु रहेकोमा ४ सय ३५ जना जेनजी प्रदर्शनका क्रममा फरार भएका थिए । फरार भएकामध्ये ८० जना आफै कारागार फर्किएका छन् भने १ सय १० जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
अहिले कपिलवस्तु कारागारमा जम्मा २ सय २३ जना कैदी बन्दीहरु रहेका छन् । भागेका अन्य कैदी बन्दीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र कुमार सिंहले बताउनुभयो ।