मालिका गाउँपालिका– ५ घमिर सिलादीका १० घर दलित समुदायका सुकुम्बासी शुद्ध खानेपानीबाट बञ्चित छन् ।
उक्त बस्तीका मानिसहरूको कपडा धुनेदेखि खानेपानी सम्मकालागि खोला धाउनु पर्ने बाध्यता रहेको छ । स्वास्थ्यका लागि शुद्ध खाने पानी अवस्यक भए पनि उनीहरूले खोलाको पानी पिउन परेको छ । सरकारी जमिनमा बसेका १० घर सुकुम्बासी परिवार बिपन्न र दलित हुन् । खरले छाएको छानामा पानी परे राम्रो ओत लाग्ने ठाँउ हुदैन भने विद्युत नभएका कारण घाम अस्ताए टुकी खोज्नुपर्ने बाध्यता रहेको छ ।
जनता आवास कार्यक्रमले अन्य ठाँउमा टीनले गाउँ रङ्गीचङ्गी भएका छन् । सुकुम्बासी दलित समुदायमा पानी परे चुहिएको पानी थाप्न भाँडो खोज्नु पर्छ । राजनीतिक दलका नेता हिडने बाटोमै वर्षौदेखि यो बिजोग कसैले नदेखेको ५२ वर्षीय जुठे सुनारले बताउनु भयो । हरेक स्थानीय तहले खरका छाना मुक्त अभियान थालेका छन् । मालिका गाउँपालिका पनि अभियानको अन्तिम चरणमा छ । तर सिलादीका सुकुम्बासी खरकै झुपडीमा बसेका छन् ।
सिलादीको जङ्गल छेउका ७० वर्षीया गोठी सुनार २१ वर्षदेखि त्यहाँ बस्दै आएका थिए । गाउँमा मोटर आउने कुराले उहाँ खुसी हुनुहुन्थ्यो । तर सडक निर्माण गर्दा उठिबास भयो । अर्जे–छाप–घमिर–अर्खबाङ्ग सडक निर्माणले उनीहरूको जमिन रहेन । टुहुरा छोराछोरी लिएर सिलादी आएर बसेको गोठी बताउनु हुन्छ । अहिले गोठीका चार भाई सहित टुनीखोला र कोटबाट आएर बसेका १० घर सुकुम्बासी छन् । ‘चुनावमा भोट माग्ने नेताले अहिले पानी, बिजुली र टीन माग्दा लालपुर्जा माग्छन् ,तिनै नेता अर्को चुनावमा के नाक लिएर आउलान ।’ सुनारले भन्नु भयो ।
मालिका गाउँपालिका–७ का वडाध्यक्ष बेदप्रसाद पन्थीले उचित स्थानमा व्यवस्थापनको तयारी भएको बताउनु भयो । त्यो ठाउँ विकासको सम्भावनाका दृष्टिले महत्वपूर्ण भएकाले अर्को ठाँउमा व्यावस्थापन गर्न गाउँपालिकाद्वारा पहल भइरहेको बताउनु भयो । ‘सबै परिवार सुकुम्बासी होइनन, कोही जमिन भएका पनि छन् ।,’पन्थीले भन्नुभयो । उहाँका अनुसार अरू सरह सेवा सुविधा दिन केहि समस्या देखिएको छ ।’ पानी, बिजुलीको लागि पनि आफुले छुट्टै व्यवस्थापन गर्न सकिन्छ की भनेर गाउँपालिकामा कुरा उठाउने गरेको पन्थीले जानकारी दिनुभयो । नेकपाका नेता हिरा एसीले नेपाली नागरिकको हैसियतले पनि उनीहरूले विकासको सुविधा उपभोग गर्न पाउनु पर्ने बताउनु भयो ।
लालपुर्जा विहिन सुकम्बासी वा अन्य हिसाबले पछाडी परेका। दलित समुदाय नेताहरूका भोट बैंक बनेको गोठीले बताउनु भयो । राजनीतिक दलका नेताहरूले अश्वासन दिएपनि काम भने हुन नसक्दा न उनीहरूले लालपुर्जा नै पाए न सेवा नै उपभोग गर्न पाए ।