INSEC Online

📅 २०८३ जेष्ठ २१

नमुना परिक्षण प्रयोगशाला बन्द हुँदा बिरामी मारमा

नेपालमा रहेको एउटा मात्रै सुबिधायुक्त नमुना परिक्षण प्रयोगशाला बन्द हुँदा बिरामी मारमा परेका छन् । विश्व बैंकले निर्माण गरिदिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तीन वर्षदेखि बन्द भएपछि जटिल किसिमका रोगको नमुना परिक्षणका लागि भारत पठाउनुपर्ने बाध्यता सिर्जना भएको छ ।

प्रयोगशाला बन्द हुँदा क्यान्सर, क्षयरोग, ईबोला, निपा, प्लेग, सार्स, इन्फुलुएन्जा, टोगाभाइरसलगायत हर्मोन, प्रजनन तथा स्नानु रोगहरूको परिक्षणका लागि नमुना भारतको नयाँ दिल्ली पठाउँदा चर्को शुल्कका साथै समयमै परिक्षणको रिपोर्ट नआउँदा बिरामीहरू मारमा पर्ने गरेका हुन ।

नेपालमा नै रोगको नमुना परिक्षण गर्ने सुविधा सम्पन्न प्रयोगशाला संचालनमा नआउदा दैनिक एक हजारभन्दा बढी बिरामीको नमुना भारत पठाउँदै आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रूणा झाले जानकारी दिनुभयो । भारतमा परिक्षण संभव नभएका रोगका नमुनाहरू जापानदेखि अमेरिकासम्म पठाउने गरिएको डाक्टर झाको भनाई छ । ६ वर्षअघि विश्व बैंकले बनाईदिएको यस प्रयोगशाला सरकारले संरक्षण गर्न नसकेकै कारण स्वास्थ्य परिक्षणका लागी नेपालले बिदेश ताक्नुको विकल्प नभएको स्वास्थ्यकर्मीहरूको दावि छ ।

नेपालमा १० देखि १५ हजार रूपैयाँमा हुने नमुना परिक्षणहरूको लागि त्यै परिक्षण विदेश पठाउदा २५ देखि ३० हजार रूपैँयासम्म शुल्क तिर्न सर्वसाधारण बाध्य छन् । तर त्यो रकम तिर्दा पनि समयमानै रिपोट नआउने समस्या पनि त्यस्तै रहेको छ । विश्व स्वास्थ्य संगठनको प्राविधिक र विश्व बैंकको आर्थिक सहयोगमा पाचँ करोड लागतमा २०१५ मा विश्व स्वास्थ्य संगठनले मान्यता समेत दिएको प्रयोगशालाकी निर्देशक डाक्टर झाले बताउनुभयो ।

विदेश पठाइने धेरै रोगको नमुना परिक्षण गर्न नेपाली चिकित्सकहरू सक्षम भएपनि आवश्यक ल्याबको कमिले गर्दा नै समयमा नै रोगको पहिचान हुन नसक्नु सबैभन्दा दुखद रहेको झाले बताउनुभयो ।

उहाँले उक्त प्रयोगशालालाई सञ्चालनमा ल्याउन विज्ञहरूसंग छलफल जारी रहेको तर निरन्तरता दिन भने समय लाग्ने बताउनुभयो ।

बन्द भएको प्रयोगशाला निरन्तर मर्मत गर्न वार्षिक १० देखि १२ लाखसम्म खर्च भैरहेको छ । बायो सेफ्टी लेभल–३ ल्याब (बिएसएल थ्री) नामक सो ल्याब नेपालका लागी निकै महत्वपूर्ण रहेकाले पनि त्यसको सञ्चालन निकै आवश्यक रहेको छ ।

अन्य

भिडियो