राष्ट्रिय मानवअधिकार आयोगले धनुषाको मिथिला नगरपालिका ५ का वातावरण संरक्षण अभियन्ता एवं मानवअधिकार रक्षक ओमप्रकाश महतोको हत्या प्रकरणको निष्पक्ष र प्रभावकारी छानविन गरी दोषिमाथी कारवाही गर्न सरकारको ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगका निमित्त सचिव मुरारिप्रसाद खरेलद्वरा पुस २७ गते जारी विज्ञप्तिमा घटना निन्दनीय भएकोले आगामी दिनमा दोहोरिन नदिने तर्फ सचेत हुन समेत सरकारलाई आग्रह गरिएको छ । आयोगले सो घटनाको अनुगमण तथा अनुसन्धानको लागि २ नम्बर प्रदेश कार्यालयबाट टोलि खटाई सकेको समेत जनाएको छ । “यस घटनाबाट वातावरण संरक्षणमा लागिरहेका व्यक्तिको जीवनको अधिकार तथा नेपालले हस्ताक्षर गरेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धि प्रतिज्ञापत्र १९६६ उलङ्घन भएको छ” विज्ञप्तिमा भनिएको छ । हिंसा तथा कसैको जीवन नै समाप्त गरेर समस्याको समाधान हुन सक्दै भन्नेमा आयोग विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।
दोषिमाथी कारवाही गर्न भन्दै अभियन्ताहरूले पुष २७ गते नै अध्यक्षलाई ज्ञापनपत्र बुझाएको आयोगले घटनाको प्रतिवेदन प्राप्त भैसकेपछि थप कदम चाल्ने समेत जनाएको छ । गत पुस २५ गते धनुषाको औरही खोलामा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन्को विरोध गर्दै आईरहेका महतोको ट्रिपरले टाउको कुल्चिएर हत्या गरिएको थियो ।