कोशी गाउँपालिका- १ लौकहीमा ०८२ पुस १७ गते बिहान १ बजे सशस्त्र प्रहरीको गोली प्रहारबाट मारिएका सोही ठाउँका ४५ वर्षीय विजय साहको मृत्यु घटनाका विषयमा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले पुस १८ गते स्थलगत अनुगमन एवम् तथ्य सङ्कलन गरेको छ ।
पीडित परिवार, स्थानीयवासी, सुरक्षाकर्मीहरू, आफन्त र नागरिक समाजका सदस्यहरूसँग भेटघाट गरी इन्सेक अनुगमन टोलीले घटनाको तथ्य सङ्कलनसहित स्थलगत अनुगमन गरेको हो ।
अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालय, सुनसरीका एसपी केशवकुमार थेवे, सशस्त्र प्रहरीका एसपी निर्मलकुमार थापा, मृतककी पत्नी गीता साह, विओपी लौकहीका इन्स्पेटर भुपबहादुर खड्का सहितसँग भेटेर घटनाका विषयमा तथ्य सङ्कलन गरेको हो ।

अनुगमनमा शव परीक्षणको अवस्था, गोली प्रहार घटनाका आरोपित सशस्त्र प्रहरी हवल्दारलाई सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी थेवेले अनुगमन टोलीलाई बताउनु भयो ।
मृतककी पत्नी गीता साहले न्यायको पाउने गरी सहमति जुटेको र सोही अनुसार सहमति कार्यान्वयन हुने एसपी थेवेले अनुगमन टोलीलाई बताउनु भयो ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको र सोही समितिले सात दिनभित्र घटनाको वास्तविकता सार्वजनिक गर्ने एसपी थेबेले अनुगमन टोली समक्ष बताउनु भयो । उहाँले घटनाका विषयमा जानकारी दिनुहुँदै उत्पन्न तनावपछि प्रदर्शनकारीको भिड नियन्त्रण गर्न नेपाल प्रहरीले २ सय सेल अश्रुग्यास र हवाइ फायर गरेको बताउनु भयो ।
सशस्त्र प्रहरीका एसपी निर्मलकुमार थापाले अनुगमन टोलीलाई तपाईंले सबै कुराहरू बुझ्नु भएको छ, भनी अनुगमन टोलीलाई प्रतिक्रिया दिनु भयो ।
सशस्त्र प्रहरी हवल्दार नवराज खतिवडाले मृतक विजय साहले चिनी तस्करी गरेको र सो क्रममा नियन्त्रण प्रयासका बेला चलाएको गोली लागेर मृत्यु भएको बताउनु भयो । नियमित गस्ती गर्दै गरेको अवस्थामा रातिको समय र नियन्त्रण प्रयासका बेला घटना भएको हवल्दार खतिवडाले बताउनु भयो । छोटी भन्सारको अभाव र पाँच हजारसम्म मात्रै भन्सार काट्न मिल्ने तर तत्कालीन समयमा विजय साहले सो भन्दा माथिको तस्करी गरेकाले नियन्त्रणको प्रयास भएको खतिवडाले बताउनु भयो ।
अनुगमन टोलीले मृतककी आमा सुधा साह, पत्नी गीता साह, कान्छो छोरा, छोरी पार्वती साह, मनोजकुमार साह, मृतककी कान्छी बहिनी तुलकी साह, दिदी शन्ति साह, भान्जा लक्षणकुमार साहसँग भेटेर घटनाका विषयमा जानकारी लिएको हो ।
इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेल नेतृत्वको अनुगमन टोलीमा मानव अधिकार रक्षक सञ्जाल कोशीका संयोजक देवीप्रसाद बास्कोटा, इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादव, अधिकारकर्मी चुन्नी खातुन र पत्रकार अनिल श्रेष्ठको टोलीले घटनामा विषयमा स्थलगत अनुगमन र तथ्य सङ्कलन गरेको हो ।