अनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले अछाम जिल्लाको जिल्ला कारागार तथा जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा अनुगमन गरेको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खड्कराज जोशीको नेतृत्वमा गएको टोलीले अछाम जिल्लास्थित सरकारी तथा नागरिक समाजसँग भेटघाट गरी जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा सूचना संकलन गर्नुको साथै मानव अधिकारको अवस्थाका बारेमा छलफल गरेको हो ।
अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय, अछामका सहायक प्रमुख जिल्ला अधिकार नरेन्द्र नेपालीसँग भेटघाट गरी जिल्लाको शान्ति सुरक्षाको अवस्था, निर्वाचनको तयारी तथा सेवा प्रभावको अवस्थाका बारेमा छलफल गरेको थियो । सोही क्रममा सहायक प्रमुख जिल्ला अधिकारी नेपालीलाई इन्सेकका संयोजक जोशीले नेपाल मावन अधिकार वर्षपुस्तक हस्तान्तरण गरी सन् २०२५ जनवरीदेखि सेप्टेम्बरसम्म भएका घटनाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी नेपालीले जिल्लामा शान्ति सुरक्षाको अवस्था समान्य रहेको, जेनजी अन्दोलनका क्रममा पनि जिल्ला प्रशासन कार्यालय, पत्रकार, नागरिक समाजको संयुक्त पहलमा भौतिक संरचना क्षति हुनबाट जोगाइएको र ०८२ फागुन २१ गते हुन गइरहेको निर्वाचनका सन्दर्भमा जिल्लास्थित सबै राजनीतिक दलहरुसँग सर्वदलीय बैठक सम्पन्न गरी निर्वाचन क्षेत्र, स्थान र केन्द्रका बारेमा साविककै निर्वाचन क्षेत्र, स्थल र केन्द्र रहने सहमति अनुसार केन्द्रमा जानकारी गराइएको बताउनु भयो ।

अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालय, अछामका इन्स्पेक्टर धनबहादुर धामीसँग भेटघाट गरी जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा छलफल गर्नुको साथै जिल्ला प्रहरी कार्यालयमा आएका उजुरी र त्यसको न्याय निरुपणका सन्दर्भमा पनि सूचनाहरु संकलन गरेको थियो ।
०८२ साउन महिनादेखि हालसम्म जिल्ला प्रहरी कार्यालय, अछाममा बलात्कार प्रयासबाट एक जना र बलात्कारबाट दुई जना गरी तीन जना पीडित भएका र छाउगोठमा एक जना बालिका, एक जना महिलाको मृत्युभएको र एक जना घाइते भएको तथ्याङ्क रहेको बताउनु भयो । जिल्लाको भौगोलिक बिकटना अनुसार जनशक्ति र साधन स्रोतको अभावमा काम गर्न केही समस्याहरु भएको भए पनि जिल्लाको शान्तिसुरक्षाको अवस्था सामान्य रहेको बताउनु भयो ।

जिल्ला निर्वाचन कार्यालय, अछामका प्रमुख रामदिन चौधरीले जिल्लामा पुरानै निर्वाचन क्षेत्र, मतदान स्थल र केन्द्र यथावत रहेका र हालसम्म नामावली संकलनको कार्यहरु सम्पन्न भइरहेको बताउनु भयो । जिल्लामा दुई ओटा निर्वाचन क्षेत्र र १ सय ३० ओटा मतदान स्थलमा २ सय ८ ओटा मतदान केन्द्र रहेको छ । जिल्लामा १ लाख ६३ हजार ३ सय ४३ मतदाता रहेको उहाँले बताउनु भयो ।

जिल्ला कारागार, अछामका प्रमुख इन्द्रबहादुर चौधरीले ५० पुरुष र २५ महिला गरी ७५ जनाको क्षमता रहेको जिल्ला कारागार जीर्ण अवस्थामा रहेको, कारागार भवन बाटोमुनि होचो स्थानमा निर्माण भएकोले घेरबार गर्न नसकिएको कारण सुरक्षा चुनौती बढेको र कैदीबन्दीहरुलाई खानेपानीको समस्या समेत हुने गरेको बताउनु भयो ।

जिल्ला कारागारमा हाल ४९ कैदी र ३२ थुनुवा गरी ६९ जना पुरुष, चार कैदी र दुई थुनुवा महिला कैदीबन्दी र दुई जना आश्रित बालिकाहरु रहेका छन् । जिल्ला कारागारमा एक जना अहेबको दरबन्दी रहेको र समान्य बिरामीको उपचार कारागरामा गरिने र जटिल बिरामीलाई जिल्ला अस्पताल, अछाममा लगेर उपचार भइरहेको समेत प्रमुख चौधरीले बताउनु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खड्कराज जोशी र प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माको संयुक्त टोलीले मङ्सिर १० गते बाजुरा जिल्लाका सरोकारवालाहरुसँग भेटघाट तथा अन्तरक्रिया गरी जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा छलफल गरेको थियो ।
