चौतारा सागाचोकगढी नपा-२ का १७ वर्षीय किसन मिजार र जुगल गाउँपालिका-१ सेलाङका १६ वर्षीय सुमन मिजारलाई दलित भएकै आधारमा घरमा डेरा गरी बसेको अवस्थामा घरबाट निस्काशन गरेको आरोपमा पीडितपक्षले चैत २४ गते जुगल गाउपालिका-५ बराम्ची घर भई सोही ठाउँ स्थित श्री दोमङ पोखरी प्रावका प्रधानाध्यापक ३५ वर्षीय चेतनाराय पौड्यालविरूद्ध इलाका प्रहरी कार्यालय जलविरेमा उजुरी दिएको छ ।
आनन्द मावि जलविरेबाट एसईई परीक्षा केन्द्र श्री रत्नराज्य मावि बराम्चीमा कोठा खोजी आरोपितको घरमा बसेको बेलामा दलित भनी कोठाबाट चैत ६ गते निष्काशन गरेको पीडित पक्षको भनाई छ ।
पीडितपक्षले चैत ७ गते इलाका प्रहरी कार्यालय जलविरेमा उजुरी दिएपनि सुनुवाइ नभएपछि चैत २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएको पीडित पक्षको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान गरी आवश्यक छानबिन गर्न इलाका प्रहरी कार्यालय जलबिरेलाई आदेश गरेपछि उजुरी चैत २४ गते पुनः इप्रकामा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिमलराज कँडेलले बताए ।
डिएसपी कँडेलका अनुसार आरोपित शिक्षकलाई सम्बन्धित वडामा वडा अध्यक्षका जिम्मामा तारेखमा छाडिएको छ भने इलाका प्रहरी कार्यालयले अनुसन्धान अगाडि बढाएको छ ।