INSEC Online

📅 २०८३ जेष्ठ २१

लमही नगरपालिकाले मुक्त कमलरीको निःशुल्क उपचार गर्ने

लमही नगरपालिकाले मुक्त कमलरीको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । चैत २० गते बसेको कार्यपालिका बैठकले दासी जीवन विताएर फर्किएका मुक्त कमलरीलाई निशुल्क उपचार सेवा प्रदान गर्ने निर्णय गरेको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले जानकारी दिए ।

उपचारका लागि लमही नगरपालिका भित्रका सरकारी स्वास्थ्य केन्द्रमा परिपत्र भइसकेको नगरपालिकाले जनाएको छ । त्यसकालागि मुक्त कमलरी परिचय-पत्र अनिवार्य र सेवा लिने व्यक्ति लमही नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ ।

लमही नगरपालिकामा कति मुक्त कमलरी छन् भन्ने एकीन तथ्याङ्क सङ्कलन नभएपनि परिचय-पत्रका आधारमा उनीहरूको उपचार निशुल्क गर्ने निर्णयमा पुगेको नगर प्रमुख केसीले बताए । नगर प्रमुख केसीका अनुसार लमही अस्पतालबाट निःशुल्क औषधि उपचार हुनेछ । रगत, दिसा, पिसावलगायत ल्याव परीक्षणमा निशुल्क गरिनेछ भने एक्सरे सेवा पनि निःशुल्क गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

दाङमा जमिन्दारको घरमा काम गरेर उद्धार गरिएका करिब ५ हजार मुक्त कमलरी छन् । लमही नगरपालिकाले आफनो क्षेत्रभित्रका मुक्त कमलरीलाई निशुल्क स्वास्थ्य सेवा दिने भएपछि मुक्त कमलरी बालिकाको स्वास्थ्य उपचारमा सहज हुने पूर्व कमलरी उर्मिला चौधरीले बताइन ।

यसैगरी लमही नगरपालिकाले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र पाँच वर्षमुनिका बालबालिकालाई पनि निशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने निर्णय गरेको छ ।

अन्य

भिडियो