माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको नाममा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चैत १४ गते ‘वारेन्ट’ जारी भएको सूचना टाँस गरेको छ ।
भरतपुर मनपा-१४ शिवनगरस्थित दाहालको घर, भरतपुर मनपा-९ स्थित जनसम्पर्क कार्यालय र लायन्सचोक स्थित पार्टी कार्यालय नजिक उक्त ‘वारेन्ट’ टाँसेको गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टीको ‘केन्द्रिय जनअदालत’ रोल्पामा रहेको र सूचना टाँस भएको १५ दिनभित्र सोही अदालतमा उपस्थित भइ स्पष्टिकरण दिन जारी वारेन्टमा भनिएको छ ।
शान्ति प्रक्रियाका नाममा विश्वासघात गरेको, दुस्मनलाई हतियार बुझाएको, जनसेना विघटन गरेको, माथिल्लो कर्णाली, अरुण तेस्रोलगायतका विद्युतीय आयोजना भारतीय कम्पनीलाई दिन सहमत गरी राष्ट्रघात गरेको, स्थानीय तह चुनावमा कालिकोट जिल्लाको माल्कोटमा धनरूप बटाला र कैलालीका चन्द्रबहादुर सिंहको हत्यामा गोली चलाउन आदेश दिएको र चैत ५ गते नेकपाका कोशी व्यूरो इञ्चार्ज किरण राईलगायत नेतालाई गिरफ्तार गरी थुनामा राखेको आरोप दाहालमाथि लागइएको छ ।