प्रत्येक वर्षखाद्य सङ्कट झेल्दै आएको बारेकोट क्षेत्र र जिल्लाको पश्चिम क्षेत्रमा यो आर्थिक वर्षको लागि आठ महिनादेखि चामल ढुवानी नहँदा उक्त क्षेत्रमा खाद्यान्न सङ्कट परेको छ ।
नेपाल खाद्य संस्थानको बारेकोटको नायकवाडास्थित घाट डिपो, रग्दाको चौखा डिपो र पश्चिमको पजारुको घोगी तथा दशेरा डिपोमा यो आर्थिक वर्षो साउनदेखि नै चामल नआएपछि खाद्यान्न सङ्कट परेको बारेकोट गाउँपालिका अन्तर्गत सक्ला गाउँका अमर बहादुर सिंहले गुनासो गरे ।
बारेकोट गाँउपालिकाको तोलखाना, धौलाकोट, रोकायगाँउ, मुल्साम, जिरी, समाकोट, गोठगाँउ, दह, गर्खाकोट, कोर्ताङ, दशेरा, सुवानाउलीलगायतका गाउँमा समेत खाद्य सङ्कट देखिएको छ । गाँउमा किनेर खाने अन्न पनि पाइँदैन ।
गाँउमै उत्पादित अन्नले तीन/चार महिना धौधौ हुने र बाँकी समय खाद्य संस्थानकै चामलमा भर पर्नु पर्ने यहाँका स्थानीयको बाध्यता छ । यातायात असुविधा र बाटोघाटो निकै अप्ठ्यारो भएकाले निजी क्षेत्रका व्यापारीले विक्रीको लागि चामल नल्याउँदा थप समस्या भएको स्थानीयबासीले गुनासो गरे ।
खाद्य संस्थानले चालु आर्थिक वर्षको चामल ढुवानीको लागि बोलपत्र आह्वान गरी सपना एण्ड सरोज कन्ट्रक्सन सेवा खलङ्गा-२ को नाममा ठेक्का स्वीकृत गरिसकेको जनाएको छ । चामल ढुवानीका लागि सम्झौता गरिसकेको महिनौँ बितिसक्दा पनि चामल ढुवानी नगर्दा खाद्य संस्थानले ठेकेदार र सप्लायर्सलाई कालो सूचीमा राखेर ठेक्का रद्द गरेको छ ।
‘बारेकोटमा चामल पुर्याउने अधिकतम कोशिस गरिरहेका छौँ । बिचमा ठेकेदारका कारण केही ढिला हुन गएको भएपनि हामी जतिसक्दो छिटो गाउँमा चामल ढुवानी गर्ने प्रयास गरिरहेका छौँ ।’-खाद्य संस्थान जाजरकोट शाखाका प्रमुख धर्मबहादुर बस्नेतले भने ।
सप्लायर्सले चालु आर्थिक वर्षअर्थात आगामी असार भित्र १ हजार क्वीन्टल चामल सदरमुकामबाट डिपोसम्म ढुवानी गर्ने जिम्मा लिएको थियो । प्रति क्वीन्टल १ हजार ४ सय ७५ रुपियाँमा ढुवानी गर्ने गरी ठेक्का स्वीकृत भएको थियो ।
बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले यस क्षेत्रको खाद्य सङ्कटलाई मध्यनजर गरी तत्काल खाद्यान्न पठाउन खाद्य संस्थानसँग माग गरेका छन् । उनले नयाँ वर्षअघि नै खाद्य डिपोमा चामल ढुवानीको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरेको बताए ।