INSEC Online

📅 २०८३ जेष्ठ २१

विश्व खाद्य कार्यक्रमद्वारा वितरित चामलमा ढुसी देखिएपछि चामल नष्ट

जाजरकोटका विद्यालयमा विश्व खाद्य कार्यक्रमले दिँदै आएको चामलमा ढुसी आएको फेला परेको छ । लिम्सा वितरण केन्द्रमा जनप्रतिनिधिकै सामुन्ने ढुसी लागेर खान अयोग्य एक बोरा चामल नष्ट गरिएको छ भने त्यस गोदाममा रहेका अन्य बोरा चामल हाललाई वितरणमा रोक लगाइएको छ ।

विश्व खाद्य कार्यक्रमले शिक्षाका लागि खाद्य कार्यक्रम इकाई जाजरकोटमार्फत ०५७ सालदेखि जिल्लामा साविकका १८ वटा गाविसका झण्डै २ सय ३४ विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

कार्यक्रम सञ्चालन भएका साविकका गाविसहरूमा खगेनकोट, रग्दा, भगवती, लहँ, डाँडागाउँ, सक्ला, रामीडाँडा, नायकवाडा, रोकायगाउँ, ढिमे, पैङ्क, अर्छानी, टालेगाउँ, पजारू, गर्खाकोट, कोर्ताङ्ग, दह र मजकोट रहेका छन् ।

उक्त ठाउँका झण्डै २ सय ३४ विद्यालयहरूका २८ हजार ९ सय ५६ विद्यार्थीहरूलाई पौष्टिक आहार वितरण गर्दै आएको कार्यक्रमले गत माघ महिनादेखि पोषणयुक्त चामल वितरण गर्दै आएको छ ।

कार्यक्रम दीर्घकालिन उद्धेश्य कुपोषणलाई न्यूनीकरण गर्नु हो भने विद्यालयमा विद्यार्थीको सङ्ख्यालाई बृद्वि गर्नु अल्पकालिन उदेश्य हो । दैनिक एक जना विद्यार्थी बराबर ८० ग्राम चामल, २० ग्राम केराउ दाल, १० ग्राम तेल, २ ग्राम आयोडिनयुक्त नुन दिनु पर्ने कार्यक्रमको प्रावधान रहेको छ ।

दिवाखाजा वितरण केन्द्र लिम्सामा गत फागुन १२ गते चामल वितरण गर्ने क्रममा ५० किलोको बोरामा झण्डै २५ किलो बराबरको चामलमा ढुसी लागेको फेला परेको वितरण केन्द्रका इञ्चार्ज सरोज वलीले जानकारी दिए ।

‘अमेरीकाबाट नेपालका लागि भारतको कलकत्ता हुँदै आइपुग्ने फोट्री फाइड (पोषणयुक्त) चामल चिस्यानका कारण खान योग्य नभएको हो ।’-इन्चार्ज वलीले भने-‘ढुसी लागेको चामललाई नष्ट गर्नका लागि शिक्षाका लागि खाद्य कार्यक्रम परियोजना काठमाडौँबाट अनुमति लिनुपर्ने भएको हुँदा अनुमति पाएपछि हामीले जनप्रतिनिधीको रोहबरमा आज नै नष्ट गरेका हौँ ।’

बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमा शाही, वडाअध्यक्ष द्वारिका प्रसाद बुढा, नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि नरबहादुर गिरी, विश्व खाद्य कार्यक्रमका स्टोरकिपर लक्ष्मण चौधरी, नेकपा एमाले बारेकोट इञ्चार्ज विष्णु पुन लगायतको उपस्थितिमा चामल नष्ट गरिएको हो । लिम्सा वितरण केन्द्रबाट बारेकोटका २७ विद्यालयमा दिवाखाजा वितरण गर्ने गरिएको छ ।

अन्य

भिडियो