INSEC Online

📅 २०८३ जेष्ठ २१

युरोपियन युनियनको प्रतिवेदन अस्वीकारः निर्वाचन आयोग

निर्वाचन आयोगले युरोपियन युनियनले बुझाएको निर्वाचन पर्यवेक्षण प्रतिवेदन अस्वीकार गरेको छ । भ्रामक, तथ्यहीन र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचारसंहिता विपरीत प्रतिवेदन देखिएकाले त्यसलाई अस्वीकार गरिएको आयोगले जनाएको छ ।

आयोगले चैत ८ गते युनियनको प्रतिवेदन अस्वीकार गरिएको सार्वजनिक गरेको छ । आयोगका सहायक प्रवक्ता मुकन्द शर्माले युरोपियन युनियनले बुझाएको प्रतिवेदन आयोगले अस्वीकार गरेको जानकारी दिएका छन् ।

‘प्रतिवेदन र सो सम्बन्धमा उक्त संस्थाले जारी गरेको प्रेस विज्ञप्ति भ्रामक, तथ्यहीन र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचारसंहिता विपरीत समेत देखिएकाले उल्लिखित निर्वाचन पर्यवेक्षण प्रतिवेदन आयोगलाई पूर्णतः अस्वीकार्य रहेको छ ।’-आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पर्यवेक्षणको सीमा बाहिर गई पर्यवेक्षण गर्ने र प्रतिवेदन गर्ने सम्बन्धमा निर्वाचन आयोगले आगामी दिनमा निर्वाचन पर्यवेक्षण गर्ने संस्थाहरूलाई अनुमति प्रदान गर्दा अझ गम्भीर हुने जानकारी गराएको छ ।

पर्यवेक्षण गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ/संस्थाहरूबाट आगामी निर्वाचनमा सुधार गर्नुपर्ने सकारात्मक सुझावहरू प्रति आयोग सदैव सकारात्मक हुँदाहुदै EU/EOM बाट पेश भएको निर्वाचन पर्यवेक्षण प्रतिवेदन निर्वाचन आयोगसँग २४ अक्टोवर २०१७ मा भएको समझदारीपत्र (MoU) र सो समझदारीपत्र साथ संलग्न Election Observation Code of Conduct का १२ वटा बुँदाको गम्भीर उल्लङ्घन गरी तयार गरेको आयोगले जनाएको छ ।

नेपालको संविधान र प्रचलित कानुनसँग सम्बन्धित विधि र प्रकृयाको पूर्ण पालन गर्दै निर्वाचन आयोगले स्थानीय तहका सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, राष्ट्रिय सभा सदस्य र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गरिसकेको आयोगले जनाएको छ ।

अन्य

भिडियो