एकडारा गाउँपालिका-३ भटौलियाका आठ वर्षीय जेनिश भनिने चिरञ्जीवी महासेठलाई अपहरणपछि हत्या गरेको आरोपमा सोही ठाउँका २० वर्षीय शुखडा भनिने साविर अन्सारी, २३ वर्षीय सुधिरकुमार साह र २० वर्षीय गोला भनिने अनिशकुमार साहलाई जिल्ला अदालतले ३१ वर्ष कैदको फैसला सुनाएको छ ।
न्यायाधीश शुभाषबाबु पुरीको चैत ४ गतेको इजलासले अपहरणपछि हत्या गरेको घटनामा तीनै जनालाई कसुरदार ठहर गर्दै उक्त फैसला सुनाएको हो ।
जिल्ला अदालतका श्रेस्तेदार रामानन्दप्रसाद अधिकारीका अनुसार बालकलाई हत्या गरेको दोषी ठहर गर्दै २० वर्ष (जन्मकैद) र अपहरण गरेको कसुरमा थप ११ वर्षगरी ३१ वर्ष कैद साजायको फैसला भएको हो ।
सोही इजलासले तीनैजनालाई जनही ५० हजार रुपियाँ जरिवानाको फैसला समेत गरेको छ । बालकलाई ०७२ पुस २६ गते अपहरण गरेको आरोपमा पीडित पक्षले पुस २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपित तीनै जनालाई पुस २७ गते नै प्रहरीले गिरफ्तार गरेको थियो ।
आरोपितहरुको बयानको आधारमा बालकको शव पुस २८ गते एकडरावेलास्थित गहुँको खेतमा खाल्डो खनी गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको थियो ।