बृन्दाबन नपा-१ घर भएका सो नगरपालिकाका प्रमुख ४५ वर्षीय रामस्नेही राय यादवलाई अपहरण र हत्याको धम्की दिएको आरोपमा प्रहरीले चैत ४ गते दुई जनालाई गिरफ्तार गरेको छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले नगरप्रमुख यादवलाई धम्की दिएको आरोपमा कटहरिया नपाका २५ वर्षीय मोहम्मद सम्साग आलम र राजपुर नपाका ४५ वर्षीय जुल्फिकर सेखलाई ललितपुरको बालकुमारीबाट गिरफ्तार गरेको हो ।
गिरफ्तारमा परेका दुवैजनाले नगरप्रमुख यादवसँग २० लाख रुपियाँ चन्दा माग गरेको र नदिए हत्या गर्ने धम्की दिएका थिए ।
नगरप्रमुख यादवसँग आरोपितहरूले पटकपटक फोन गरी १० लाख रुपियाँसम्म दिए पनि आफूहरूले केही नगर्ने भन्दै मोलमोलाई गर्दै आइरहेका प्रमुख यादवले बताए ।
आरोपित दुबैजनालाई ललितपुरबाट जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याउने तयारी भइरहेको र उनीहरूलाई ल्याएपछि थप अनुसन्धान अघि बढ्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।