कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको उपचार काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।
फागुन २८ गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको आक्रमणबाट घाइते भएका चौधरीको काठमाडौँमा उपचार गराइएको हो ।

उनीमाथि आरोपितहरूले खुकुरी र गोली प्रहार गरेका थिए । टाउकोमा खुकुरी र कम्मरमुनिको भागमा गोली लागी घाइते भएको चौधरीको थप उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।
कम्मरमुनिको भागमा लागेको गोली अझै ननिकालिएको मेयर चौधरीले बताए । चौधरीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापालगातले आपराधिलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
मेयर चौधरीमाथि आक्रमण गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले गिरफ्तार गरी चैत १ गते नै सार्वजनिक गरिसकेको छ ।
घोडाघोडी नपा-१ लक्ष्मीपुरका ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर-९ का ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उमनपा-८ का ३० वर्षीय पुर्णप्रसाद खनाल र टिकापुर नपा-१ का ३० वर्षीय हृदयराज बोगटी रहेको प्रहरीले जनाएको छ ।