म्याद नाघेका अखाद्य बस्तुहरूको जफत गरी नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनको नेतृत्वमा गएको एक टोलीले चैत २ गते सदरमुकाम खलङ्गा बजारको अनुगमन गरेर म्याद नाघेका अखाद्य बस्तुहरूको जफत गरी नष्ट गरेको हो ।
सामानहरूको जफत गर्दै सो टोलीले अखाद्य बस्तु विक्री बितरण नगर्न आग्रह गरेको छ । अखाद्य बस्तुको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले यसको विक्री वितरण नगर्न टोलीले आग्रह गरेको हो ।

अनुगमन टोलीले खलङ्गा बजारबाट सेञ्चुरी खुर्सानी पाउडर सात प्याकेट, पापड सात पोका, भुजा चार पोका, सेन्टर फ्रुट १४ डिब्बा, म्याङगो फ्रुटी १९ वटा जफत गरेर नष्ट गरेको छ । यस्तै बटर बिस्कुट ६ वटा, ललिपप १५ डिब्बा, करेन्ट मसला नौ प्याकेट र पाठक दालमोठ ३१ प्योकेट नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी टण्डनले बताए ।
यसैबिच स्थानीयले जिल्ला प्रशासनको नेतृत्वमा बजारको अनुगमन गर्नु उपभोक्ताहरूको लागि राम्रो भएको बताउँदै अनुगमन कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
हरेक वर्षमार्च १५ मा विश्व उपभोक्ता अधिकार दिवस मनाउने गरिएको छ । यस्ता अनुगमनलाई दिवस आसपासमा मात्रै गर्न नहुनेमा स्थानीयले जोड दिएका छन् ।
संविधानको धारा ४४ मा उपभोक्ताको हकको सुनिश्चितता गरिएको भएपनि उपभोक्ता विभिन्न बाहानामा ठगिँदै आएका छन् ।