सङ्घीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएकी छन् ।
अघिल्लो पटक र यसपटक पनि नेकपा (एमाले) को समर्थनमा उम्मेदवार बनेकी राष्ट्रपति भण्डारीलाई यसपटक वाम गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का साथै सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले पनि मत दिएका छन् ।
एमालेका तत्कालीन उपाध्यक्ष र संविधानसभाकी सदस्य रही संविधानसभाबाट संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण उनलाई अघिल्लो कार्याकालका लागि सो पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।
नेपालको संविधान जारी भएपछिको राष्ट्रपति निर्वाचनमा उनी व्यवस्थापिका संसद्बाट २०७२ कात्तिक ११ मा सो पदमा निर्वाचित भएकी थिइन् । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नेपाली काङ्ग्रेसका तर्फाट डा. रामवरण यादव निर्वाचित भइ कार्यकाल पूरा गरेका थिए ।
भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीकी प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी नेतृ कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मत प्राप्त गरेकी थिइन् । निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो ।
सङ्घीय संसद्का ३ सय ३१ मतदातामध्ये ३ सय २६ र प्रदेशसभाका ५ सय ४९ मतदातामध्ये ५ सय ३६ जनाले मतदान गरेका थिए । कूल मतदातामध्ये सङ्घीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित रहेका थिए ।
सङ्घीय संसद्का सदस्यको एक मतको भार ७९ कायम गरिएको थियो । त्यस आधारमा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यमध्ये भण्डारीको पक्षमा २ सय ४५ मत परेको थियो । त्यो भनेको १९ हजार ३ सय ५५ मतभार हो । उनकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले सङ्घीय संसद्का तर्फाट ७८ मत प्राप्त गरिन् । त्यो भनेको ६ हजार १ सय ६२ मतभार हो ।
यस्तै प्रदेशसभातर्फ भण्डारीको पक्षमा ४ सय १५ मत परेको थियो । प्रदेशसभाको एक मतको भार ४८ कायम गरिएको थियो । त्यस आधारमा राष्ट्रपति भण्डारीले १९ हजार ९ सय २० मतभार प्राप्त गरेकी हुन् । सङ्घीय संसद् र प्रदेश सभा सदस्यको कूल मतभार जोड्दा राष्ट्रपति पदका लागि भण्डारीले कूल ३९ हजार २ सय ७५ मतभार प्राप्त गरिन् । उक्त मतभार प्रतिस्पर्धी राईको भन्दा २७ हजार ४ सय ४५ बढी हो ।
प्रदेशसभा सदस्यका तर्फबाट कुमारीलक्ष्मी राईले १ सय १६ मत प्राप्त गरिन् । त्यो भनेको ५ हजार ५ सय ६८ मतभार हो । यस आधारमा राष्ट्रपतिका उम्मेदवार राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरिन् । राष्ट्रपति निर्वाचनका लागि कूल ५२ हजार ५ सय १ मतभार कायम गरिएको थियो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार सेन्ट लग विधिका आधारमा मतभार कायम गरिएको हो । उक्त निर्वाचनको पर्यवेक्षण इन्सेकले गरेको थियो ।
फोटो: विमलचन्द्र शर्मा





