यही फागुन २९ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसहित दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
भण्डारीको प्रस्तावकमा सांसद माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र ओनसरी घर्ती तथा समर्थकमा सांसद रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् । राष्ट्रपति भण्डारीले आफैँ निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेदवारी दर्ता गराएकी हुन् ।
त्यसैगरी नेपाली काङ्ग्रेसकी नेतृ एवम् पूर्व सभासद लक्ष्मी राईले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् ।
राईको प्रस्तावकमा सांसद चित्रलेखा यादव, मानबहादुर बिक, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे तथा समर्थकमा सांसद मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, सुजाता परियार र राधा घले रहेका छन् ।
राष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद् भवन नयाँबानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।