INSEC Online

📅 २०८३ जेष्ठ २१

अदालतले भन्यो-‘जाहेरवाला नबुझी नहुने’

फागुन १३ गते आइतबारका लागि पेशी तोकिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा चितवन अदालतले अर्को आदेश गरेको छ ।

न्यायाधीश कुलप्रसाद शर्माको इजलासले यस मुद्दाका जाहेरवाला नुरप्रसाद अधिकारीलाई बकपत्रका लागि अदालतमा हाजिर हुन आदेश गरेको हो ।

मुलुकी ऐन २०२० को अदालती बन्दोबस्तको ११५ अनुसार ‘नबुझी नहुने’ भन्दै नुरप्रसादलाई आगामी चैत २५ गते आइतबार अदालतमा बकपत्रका लागि हाजिर हुन आदेश गरेको हो ।

चितवन अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार फागुन १३ गते आइतबारका लागि पेशी चढेकोमा अदालतबाट आइतबार बकपत्रको आदेश भएको हो । उक्त मुद्दाको पेशी ०७२ फागुन २७ गतेबाट सर्दै आएको हो । हालसम्म यो मुद्दाको २० औँ पटक सम्म पेशी मिति तोकिएको छ । यस मुद्दाम हालसम्म पटकपटक गरी नौ पटक आदेश र दश पटक विविध कारणले स्थगित भएको छ ।

०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी दिएका थिए । त्यसको १ वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी उजुरी दिएका थिए । माओवादी कार्यकर्ताले कृष्णप्रसाद अधिकारीको अपहरणपछि ०६१ जेठ २४ गते हत्या गरेका थिए ।

प्रहरीमा थन्किएर बसेको मुद्दा झण्डै १० वर्षपछि ०७१ चैत ३० गते चितवन जिल्ला अदालतमा दर्ता भएको थियो । प्रहरी प्रतिवेदनाको आधारमा १३ जनाविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गराएका थिए ।

१३ वर्षअघिको घटनामा अदालतले अझैसम्म फैसला गर्न सकेको छैन ।

आवश्यक प्रमाणहरू जुटाए पनि न्यायाधीशहरू यस मुद्दामा हात हाल्न ‘अप्ठेरो’ मानिरहेका छन् । हाल यस मुद्दा चितवन अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा छ । ‘निर्वाचनमा व्यस्त हुँदा यो मुद्दा हेर्न नभ्याइएको हो ।’-न्यायाधीश शर्माले मङ्सिर ४ गते अदालत परिसरमा भएको कार्यक्रममा प्रधानन्यायाधीश गोपाल पराजुली समक्ष भनेका थिए-‘चुनाव सकिने बित्तिकै म फैसला गर्छु।’

मुद्दाको प्रगति

यसअघि प्रमाण बुझ्ने र बकपत्र लिने काम सकिएको भन्दै अदालते अन्तिम पेशी ०७३ असोज ९ गतेका लागि तोकेको थियो । तर, फैसला हुन सकेन । आमा गङ्गामायाले ०७३ भदौ २७ गते अनसन तोडेकी थिइन् । चितवन अदालतका श्रेष्तेदार सहितको टोलीले ०७३ असोज २ गते वीर अस्पतालमै पुगेर गङ्गामायासँग बकपत्र गरेका थिए ।

०७३ वैशाख २३ गते न्यायाधीश कविप्रसाद न्यौपानेबाट जाहेरवाला बुझ्ने आदेश भएको थियो भने ०७२ फागुन २७ गते न्यायाधीश बासु पौडेलबाट साक्षी बकपत्रको आदेश भएको थियो । तत्कालीन जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले लिखित बहस नोट पेश गर्न ०७३ असोज ११ गते दिएको आदेश बमोजिम ०७३ कात्तिक ५ गते बहस नोट अदालतमा पेश भएको थियो ।

चार न्यायाधीशको थाप्लोमा

यस मुद्दाको किनारा लगाउने जिम्मा हालसम्म चार न्यायाधीशले पाएका छन् । तर, कहिले स्थगित, कहिले पेशी, कहिले आदेशको नाममा मुद्दा तीन वर्षबढी लम्बिएको छ । सुरूमा न्यायाधीश बासुदेव पौडेलले हेरेको यस मुद्दा पछि क्रमश कविप्रसाद न्यौपाने, टेकप्रसाद कुँवर हुँदै हाल कुलप्रसाद शर्माको इजलासमा छ ।

सर्वोच्चको आदेश कार्यान्वयन भएन

०७२ पुस ६ गते ‘कृष्णप्रसाद अधिकारीको मृत्यु कर्तव्यबाट भएको कुरा विवाद छैन’ भन्दै सर्वोच्चले आरोपितहरूमध्ये छविलाल पौडेललाई पूर्पक्षका लागि थुनामा राखी अनुसन्धान गर्न आदेश चितवन जिल्ला अदालतलाई परिपत्र गरेको थियो ।

यस घटनामा १३ जना आरोपित मध्ये छविलालको हकमा भने चितवन जिल्ला अदालत र पुनरावेदन अदालत हेटौँडाको आदेश उल्टाउँदै सर्वोच्चले ०७२ पुस ६ गते यस्तो आदेश गरेको हो । तर, हालसम्म छविलाललाई गिरफ्तार गरिएको छैन । चितवन अदालतको २०७२ वैशाख ४ गतेको आदेशले आरोपितहरू मध्ये सात जना धरौटीमा छुटेका थिए भने बाँकी सुद्ध तारेखमा छुटेका थिए ।

छोराको हत्यारालाई कारबाही गरी न्याय दिलाउन भन्दै मृतकका आमाबावु अनसनमा बसेका थिए । अनसनमै रहँदा नन्दप्रसादको मृत्यु ०७१ असोज ६ गते वीर अस्पतालमा भएको थियो । अहिलेसम्म उनको दाहसंस्कार भएको छैन । उनको शवलाई टिचिङ अस्पतालमा राखिएको छ ।

को को हुन आरोपित ?

गोरखा जिल्ला फुजेलका सिता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजिव भन्ने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, रुद्र आचार्य, कालिप्रसाद अधिकारी, भिमसेन भन्ने भिष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीलाई विपक्षी बनाइ चितवन अदालतमा मुद्दा दायर भएको छ ।

अन्य

भिडियो