INSEC Online

📅 २०८३ जेष्ठ २१

होलियाका २५ प्रतिशत बालबालिकामा कुपोषण समस्या

बाँके जिल्लाको होलियाका बालबालिकामा २५ प्रतिशत कुपोषणको समस्या देखिएको छ । राप्ती नदीको कटान, पटान र डुबानको उच्च जोखिममा रहेको होलियामा जिल्ला जनस्वास्थ्य कार्यालयले ६ महिना देखि पाँच वर्षसम्मका करिब ७ सय बालबालिकाको तौल र उचाई नाप्दा २५ प्रतिशत बालबालिकामा कुपोषण देखिएको जनाएको छ ।

ती मध्ये १० प्रतिशत बालबालिकामा कडा कुपोषण र १५ प्रतिशतमा मध्यम खालको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्ड अनुसार एक वर्षउमेरको स्वस्थ बच्चाको तौल न्यूनतम १० किलो र उचाई ७५ सेन्टिमिटर हुनु पर्ने भए पनि होलियामा धेरै जसो बालबालिकाको अवस्था त्यो भन्दा कम पाइएको छ ।

उक्त क्षेत्रमा बाढीका कारण कटान र डुबानले बाली क्षति पुर्‍याउने क्रम बढेसँगै उत्पादन घटेर सङ्कट बढ्दै गएको छ । यसै कारणले पनि पर्याप्त पोषणयुक्त खाना नपाएको कारणले बालबालिकाहरूमा कुपोषणको समस्या देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयले बाढी प्रभावित क्षेत्रका ६ महिनादेखि ५ वर्षसम्मका ६ हजार ८ सय बालबालिकाहरूको पाखुराको नापमार्फत कुपोषणको अवस्था परीक्षण गरेको थियो ।

खाद्यान्नको अभावमा अमाको दुध कम आउने भएकाले आमाको दुधसमेत पर्याप्त नपाउँदा बालबालिकाहरू पुड्का र ख्याउटे देखिएको जनस्वास्थ्य कार्यालयका प्रमुख खिमबहादुर खड्काले बताए ।

कुपोषणका कारण बालबालिकामा शारीरिक र मानसिक विकासमा समस्या उत्पन्न हुने भएकाले जिल्लाका १३ ओटा स्वास्थ्य संस्थामा उपचार व्यवस्था मिलाउने तयारी भइरहेको प्रमुख खड्काले बताए ।

अन्य

भिडियो