INSEC Online

📅 २०८३ जेष्ठ २१

अनुदानको चामल गाउँमा दोब्बर मूल्यमा विक्री वितरण

नेपाल खाद्य संस्थान शाखा जुम्लाले दिएको अनुदानको चामल पातारासी गाँउपालिकामा दोब्बर मुल्यमा विक्री वितरण गर्ने गरेको पाइएको छ । पातारासी गाँउपालिकाका व्यापारीले स्थानीयलाई प्रयोग गरेर एकै पटक १/२ क्विन्टलसम्म चामल खाद्य संस्थान जुम्लाबाट खरिद गर्ने गरेको पाइएको छ ।

खाद्य संस्थान जुम्लामा अरुवा मोटो चामल ३० केजीको ९ सय ५० मा विक्री भएको र त्यही चामल पातारासी गाँउपालिका-१ का व्यापारी धनराज बुढाले १ हजार ५ सय देखि १८ सय सम्मको मुल्यमा विक्री गरेको पाइएको छ । खाद्य संस्थान जुम्लाले एक जनालाई २ प्याकेट भन्दा धेरै चामल नदिने हुनाले आफुले गाउँका स्थानीयबासीको सहयोगमा खाद्य संस्थानबाट एक पटकमा १/२ क्विन्टल सम्म चामल खरिद गर्ने गरेको व्यापारी बुढाले बताए ।

अरुवा मोटो चामल ३० केजीको ९ सय ५० रुपियाँ मुल्य हाल्ने गरेको र गाँउमा त्यही चामल १ हजार ५ सय देखि १ हजार ८ सय रुपियाँसम्मको मुल्यमा किन्ने गरेका छौँ स्थानीय लोक ऐडीले बताए ।

खाद्य संस्थान जुम्लामा एक प्याकेट चामल लिन जानकै लागि एक दिनको बाटो लाग्ने हुनाले गाउँमै २ रुपियाँ महङ्गो मुल्यमा खरिद गर्दा एक दिनको काम र समयको बचत हुने स्थानीय कृष्ण बुढाले बताए ।

खाद्य संस्थान जुम्लामा अनुदानको चामलको कोटा ८ हजार क्विन्टल हो तर यो वर्ष६ हजार क्विन्टल चामल आएको छ । अनुदानको चामल लिनको लागि पातारासी गाँउपालिका र गोठीचौरका स्थानियहरू धेरै आउने गरेको खाद्य संस्थान जुम्लाले जनाएको छ । गाँउका उपभोक्ताहरू अरुवा मोटो चामलमा ठगिने गरेका भए पनि कसैले चिन्ता लिएको देखिँदैन ।

अनुदानको चामल प्राय गरेर मदिरा बनाउन प्रयोग गर्ने गरिन्छ । अनुदानको अरुवा मोटो चामल गाँउमा खाने त कमै होलान अधिकांशले रक्सी बनाउन प्रयोग गरिहेका छन् पातारासी गाँउपालिका १ पाडा गडिगाँउका स्थानिय कृष्ण बुढाले भने । हाम्रो गाँउमा अहिले अरुवा मोटो चामल खाने भन्दा रक्सीमा धेरै प्रयोग हुने गरको बुढाले बताए । गाँउमा कुनै ठुलो भोज भतेर भए मात्र खाद्य संस्थान जुम्लाको अनुदानको चामल प्रयोग गरिने व्यापारी धनराज बुढाले बताए ।

जुम्ला खाद्य संस्थानबाट हाल दैनिक अरुवा मोटा र मसिनो चामल विक्री भइरहेको छ । खाद्य संस्थान जुम्लाबाट प्रति व्यक्ति २ प्याकेट दिने गरेका छौ गाँउमा दोब्बर मुल्यमा विक्री भइरहेको बारे थाहा नभएको खाद्य संस्थान कार्यालय जुम्लाका कार्यालय निमित्त पुर्णबहादुर थापाले बताए । उनले भने-‘यस विषयमा चासो दिएर जानकारी लिने र त्यसो भएको भेटिएमा कारवाहीको प्रक्रिया अघि बढाउने छौँ ।’

अन्य

भिडियो