INSEC Online

📅 २०८३ जेष्ठ २१

गैरकानुनी रूपमा भारत लैजाँदै गरेका बालबालिकाको उद्धार

गैरकानुनी रूपमा भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बसमा लैजाँदै गरेको अवस्थामा २० जना बालबालिकालाई प्रहरीले पुस २५ गते तिला गाउँपालिकास्थित कुडारीबाट उद्धार गरेको छ । बालबालिकाले भरिएको बसलाई प्रहरीले चेकजाँच गर्दा भारत लैजाने कुनै आधार नभेटिएपछि बालबालिकाको उद्धार गरेको हो ।

गैरकानुनी रूपमा जिल्ला बाहिर लैजाँदै गरेको आरोपमा पातारासी गाउँपालिका-३ का २९ वर्षीय छिरिङ तुण्डुक तामाङ र सोही ठाउँका ३२ वर्षीय कार्मा तामाङलाई पुस २५ गते गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर चुडामणी पुनले बताए ।

लामा भाषा पढाइदिने भन्दै अभिभावकलाई आश्वासनमा पारेर उनीहरूले बालबालिकालाई भारत लैजान लागेको अवस्थामा बसलाई नियन्त्रणमा लिई बालबालिकाको उद्धार गरिएको इन्स्पेक्टर पुनले बताए ।

उनका अनुसार उद्धार गरिएका बालबालिका ७ देखि १४ वर्षउमेर समूहका छन् । जिल्लाको पातारासी गाउँपालिकाका खस/क्षेत्रीका बालबालिकालाई ललाईफकाई लगिएको र लैजाने कुनै आधार नभएकाले प्रहरीले लामा जातिका दुई जनालाई गिरफ्तार गरेको छ ।

‘एउटा बसमा धेरै बच्चा लैजाँदै गरेको देखेपछि सोधपुछ गरियो ।’-इन्स्पेक्टर पुनले भने-‘लैजाने आधार रहेनछ । त्यसैले नियन्त्रणमा लिइएको हो ।’ उनका अनुसार दुई जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ । बालबालिकालाई प्रहरीको निगरानीमा होटलमा राखिएको छ ।

महिला तथा बालबालिका कार्यालयले बालबालिकाको नाम सार्वजनिक नगर्ने भनेपछि उद्धार गरिएका २० जना बालबालिकाको नाम र फोटो सार्वजनिक गरिएको छैन । उद्धार गरिएका बालबालिका बुढा, बोहोरा, महतारा र कामी जातीका रहेका छन् । सबै बालक मात्र रहेका छन् । उद्धार गरिएका बालबालिकाका अभिभावकलाई छलफलमा राखेर अभिभावकलाई बुझाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्य

भिडियो