जिल्लाका पाँच ओटा गाउँपालिकाका प्रमुख गत असोज महिनादेखि कार्यालयमा उपस्थित नभएपछि सेवाग्राही मर्कामा परेका गुनासो गरेका छन् ।
हिमाली जिल्ला हुम्लाका सात ओटा गाँउपालिकामध्ये पाँच ओटा गाँउपालिकाहरू निमित्तका भरमा रहेका छन् । केन्द्रबाट खटिएका गाँउपालिकाका कार्यकारी अधिकृत जिल्लामा नआएपछि हाल ती गाँउपालिका निमित्तका भरमा सञ्चालन भइरहेका छन् ।
जिल्लाका नाम्खा, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा नासु र खरिदार तहका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिइएको जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी लोकबहादुर सुनारले बताए । केन्द्रले खटाएका पाँच जना कार्यकारी अधिकृत जिल्लामा नआएर अन्यत्र सरूवा भएपछि निमित्तको भरमा गाँउपालिका सञ्चालन भइरहेको सुनारले बताए ।
जसमा ताँजाकोटमा निमित्त रहेका खरदारलाई आर्थिक अधिकार दिइएको छ भने नाम्खा, सर्केगार्ड, चङ्खेली र अदानचुलीमा यसअघि साविकका नासुस्तरका गाविस सचिवलाई निमित्तको जिम्मेवारी दिइएको अधिकारी सुनारको भनाई छ । यसले गर्दा अहिले ती निमित्त कार्यकारी अधिकृतलाई निशर्त र सशर्त अनुदानको विषयमा जानकारी नभएकाले गाउँपालिकाको कार्यक्रम सञ्चालन गर्न दुविधा भएको छ ।
सबै विषयगत कार्यालयको बजेट यो आर्थिक वर्षबाट पालिकामा गएकोले शिक्षा र स्वास्थ्य बाहेक कृषि, पशु, महिला विकासलगायतका कार्यालयको बजेटका विषयमा निमित्त कार्यकारी भएका गाँउपालिकालाई जानकारी नभएकोले पनि आर्थिक वर्षसम्पन्न भएको ६ महिनासम्म कुनै गतिविधि अगाडि बढेको छैन ।
त्यस्तै जिल्लामा नागरिकता, पासपोर्ट, जन्म र मृत्यु दर्तालगायतका सिफारिस गर्नलाई पनि धेरै समस्या भएको स्थानीयबासी उज्जिर बोहोराले बताए ।
खार्पुनाथ गाउँपालिका प्रमुख कर्णबहादुर रावलका अनुसार गाउँपालिकाहरूमा प्रशस्त मात्रामा कर्मचारी राज्यले व्यवस्था नगर्दा पनि स्थानीयबासीलाई कुनै सेवा सुविधा दिन नसकेको गुनासो गर्दछन् । ‘यो राज्यको कर्तव्य हो । हुम्लाका सात ओटै गाउँपालिकामा कर्मचारीलगायत सेवा सुविधा दिनुपर्छ ।’-प्रमुख रावलले भने ।