जाजरकोटमा बालिकाहरु असुरक्षित बन्दै गएका छन् । बलात्कार र यौन दुर्व्यवहारका घटनामा वर्षेनी वृद्धि हुँदै आएका छन् । पछिल्लो तीन आर्थिक वर्षको अवधिमा मात्रै २९ जना बालिका बलात्कृत भएका छन् । त्यस्तै ६ जना बालिकामाथि यौन दुर्व्यवहार भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी वसन्तकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यो तथ्याङ्क आर्थिक वर्ष २०७९-०८० देखि ०८१-०८२ सम्मको हो ।
त्यस्तै इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ मा तीन जना बालिका बलात्कृत र पाँच जना बालिकालाई यौन दुर्व्यवहार गरिएको अभिलेख छ । त्यस्तै २०२५ को जनवरीदेखि जुलाईसम्म दुई बालिका बलात्कृत र एक बालिकामाथि यौन दुर्व्यवहार भएको इन्सेकले अभिलेख गरेको छ ।
‘बलात्कार गर्ने प्राय: पीडितका आफन्त वा चिनजानकै व्यक्ति हुने गरेको पाइन्छ, डिएसपी शर्माले भन्नुभयो, ‘बालिकालाई सुरक्षित बनाउनका लागि घरदेखि टोल टोलसम्म अभियान चलाउन आवश्यक छ । यदी समयमा काम गर्न नसके हरेक वर्ष सङ्ख्यामा वृद्धि हुँदै जानेछ ।’
तीन वर्षको अवधिमा ७२ जना बालबालिका हराएको भन्दै प्रहरीसम्म निवेदन आएका थिए । त्यसमध्ये पनि बालिका धेरै रहेका छन् । केही बाहेक अधिकांशलाई भेटाएर परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । स्थानीयवासी र अधिकारकर्मीहरूले बालिकामाथि हुने यस्ता घटनालाई गम्भीरता साथ लिएर अभिभावक, विद्यालय, समाज र राज्य संयन्त्र सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।