गुठीचौर गाउँपालिका–१ मणिसाँघुमा ०८२ साउन ११ गते विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।
बिरामी हुनेमा ६० वर्षीय लेखकमान महतारा, ५८ वर्षीया राजकुमारी महतारा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतारा बिष्ट र ३ वर्षीय पुजन बिष्ट रहेका छन् ।
च्याउ खाएपछि उनीहरुलाई वान्ता हुने, पेट दुख्ने, जीउ गल्ने लगायतका लक्षण देखा परेका थिए । उनीहरुलाई उपचारका लागि साउन ११ गते साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला ल्याएको हो ।
बिरामीको स्वास्थ्य अवस्था अहिले सामान्य हुँदै गएको र चिकित्सकीय निगरानीमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक कविता साहले बताउनु भयो ।