सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनविरे कामीको उद्धार गरिएको छ । ६ वर्षदेखि कुष्ठरोगसँग लडिरहेका कामीको ०८२ साउन १० गते जिल्ला अस्पताल हुम्लामा उद्धार गरिएको हो ।
इन्सेक अनलाइनमा साउन ९ गते ‘कुष्ठरोगसँग लडिरहेका धनविरेलाई सहयोगको आशा’ भन्ने शीर्षकमा समाचार प्रकासन भएको थियो ।
सामाजिक विकास कार्यालय हुम्लाको वार्षिक समीक्षा कार्यक्रममा असार ३१ गते कामीको अवस्थाका बारेमा मानव अधिकारकर्मी नन्द सिंहले उपचारको पहलका लागि प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय समक्ष अनुरोध गर्नु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेयले स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर उमाकान्त तिवारीलाई तत्काल विरामीको उपचार गर्न निर्देशन दिनु भएको थियो । उक्त निर्देशन अनुसार जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक भण्डारी, स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारी र मानव अधिकारकर्मी नन्द सिंह गाउँमै पुगेर कामीको एम्बुलेन्स मार्फत उद्धार गरेको डाक्टर तिवारीले बताउनुभयो ।
कामीको स्वास्थ्यमा सुधार नहुँदासम्म जिल्ला अस्पतालले निःशुल्क रुपमा उपचार गर्ने भएको छ ।
