डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–५ मा ६ दिनदेखि एक जना बिरामीको उद्दार हुन सकेको छैन । रुकुम पश्चिम आठबिसकोट नगरपालिका स्थायी घर भई हाल शे–फोक्सुन्डो गाउँपालिका–५ मा बस्दै आएका ३० वर्षीय इन्द्रबहादुर धौलाकोटी साउन ४ गते घरको छतबाट लडेर टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय डोल्पाका इन्स्पेक्टर टोपेन्द्र बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच दिनदेखि हेलिकप्टरको प्रखाईमा बस्दा पनि नआएपछि साउन ८ गते बिरामीलाई स्टेचरमा बोकेरै जिल्ला सदरमुकाम ल्याउन लागिएको छ । उक्त स्थानमा सडक नपुगेका कारण हेलिकप्टरको भर पर्नुपर्ने बाध्यता रहेको छ । सरकारी निकायबाट हेलिकप्टरको प्रयास गरेपनि त्यो सफल नभएको र बिरामीले व्यक्तिगत रुपमा खर्च गर्न नसक्ने अवस्था आएपछि बोकेरै पैदल मार्गबाट जिल्ला सदरमुकाम ल्याउन थालिएको इन्स्पेक्टर टोपेन्द्र बुढाले बताउनु भयो ।
त्यस्तै सोही दिन आफैंले चलाएको मोटरसाइकलले खुट्टा किचेर घाइते भएका शे–फोक्सुन्डो गाउँपालिका–१ का ३७ वर्षीय छोल्डिङ ग्याल्छेन लामा भने साउन ७ गते व्यक्तिगत खर्चमा हेलिकप्टर बुक गरेर उपचारका लागि काठमाण्डौं पुगेको प्रहरीले जनाएको छ ।