INSEC Online

📅 २०८३ जेष्ठ २१

कुष्ठरोगसँग लडिरहेका धनविरेलाई सहयोगको आशा

सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनविरे कामी ६ वर्षदेखि जिउनको लागि सङ्घर्ष गर्दै आएका छन् । तर, गाउँले र आफन्तको अन्धविश्वास र बेवास्ताका कारण उनी अझै पनि पीडादायक अवस्थामै छाउगोठमा एक्लै बस्दै आएका छन् ।

कुष्ठरोगले उनी शारीरिक रूपले पूर्ण रूपमा अपाङ्ग बनेका छन् । उनका हात, खुट्टाका औंला बाङ्गो छन् भने शरीर जम्मा भएर हिँडडुल गर्न समेत कठिन भएको छ । गाउँलेको अन्धविश्वासका कारण उनलाई छाउगोठमा राखिएको छ, जहाँ उचित उपचार र हेरचाहको अभाव छ । उनी रातदिन चिसो, भोक र वेदनाको बीच जिउन बाध्य भएका छन् ।

Photo 2025-07-25 Humla (1)परिवारमा उनी जेठो सदस्य हुन् । सबै भाइहरू छुट्टिएर बसेका छन् । उनको हेरचाहको लागि भाइहरूले प्रत्येक महिनाको पालो राखेका छन् । घरपरिवारले घरमै बस्न भने पनि गाउँलेहरूको डरले टाढै छाउगोठमा राखिएको परिवारजन बताउँछन् ।

६ वर्षदेखि एकल जीवन बिताइरहेका कामी रातभरि चिसो, दिनभरि घाम अनि भोको पेट, बिरामीले शिथिल भएका छन् ।

कामीले भन्नुभयो, “मलाई अझै आशा छ, म फेरि स्वस्थ भएर गाउँ फर्कन सक्छु । मेरो सबैभन्दा ठूलो चाहना भनेको फेरि जिउन र समाजमा स्वाभिमानका साथ बसेर जीवन बिताउनु हो ।” उहाँले थप भन्नुभयो, “म चाहन्छु, म जस्तो पीडित अरूहरूलाई पनि सरकार र समाजले सहयोग गरुन्, ताकि उनीहरूको जीवन पनि उज्यालो होस् ।”

Photo 2025-07-25 Humla (2)

सिमकोट गाउँपालिकाका वडाध्यक्ष कमल बुढाले आफ्नो वडामा यस्ता खालका बिरामीको उपचार गर्नको लागि सरोकारवाला निकायहरूसँग आग्रह गरेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले यस्ता बिरामीहरूको उपचार र सहायताका लागि आवश्यक सबै कदम चाल्नेछौं। हाम्रो प्रयास भनेको कुनै पनि नागरिकलाई उपचार र सम्मानबाट वञ्चित नहुनु हो ।”

सरकार, सामाजिक संघसंस्था र समुदायले मिलेर यस्ता पीडितहरूको जीवन सुधार्नु, उपचार र सम्मान दिनु आजको आवश्यक हो ।

अन्य

भिडियो