स्वास्थ्य बीमा सम्बन्धी सरकारको पछिल्लो निर्णयबाट पाल्पामा बिमा मार्फत सेवा लिने बिरामीहरु समस्यामा परेका छन् ।
स्वास्थ्य बिमा बोर्डले २०८२ साउन १ गतेबाट लागू हुने गरी स्वास्थ्य बिमा गरेका बिरामीहरुले प्रथम सेवा केन्द्रबाट सिधै उपचार सेवा लिन पाउने व्यवस्था गरेको छ । जस अन्तर्गत पाल्पामा पाल्पा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ताहुँ, रामपुर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र हार्थोकबाट बिरामीहले सिधै सेवा पाउने छन् ।
यसअघि पनि यी चार ओटै संस्थाबाट बिरामीले सिधै सेवा लिएका थिए । यसअघि लायन्स लाकौल आँखा अस्पताल तानसेनमा पनि आँखाका बिरामीले सिधै सेवा लिँदै आएकोमा अहिलेको व्यवस्थाले पुनः रिफर बनाउने झण्झट थपिएको छ । त्यस्तै लुम्बिनी मेडिकल कलेजका लागि यसअघि पनि रिफर चाहिने व्यवस्था रहेकोमा यो व्यवस्थामा पनि रिफर लिनैपर्ने भएको छ ।
बिरामी उपचारका लागि सम्बन्धित अस्पतालमा जानुको साटो रिफर लिनकै लागि पाल्पा अस्पतालमा भिड हुँदा कतिपय बिरामीले रिफर लिनकै लागि दुई दिन कुनुपर्ने बाध्यता बनेको छ । पाल्पा अस्पतालमा दैनिक ५ सय बिरामीहरु रिफरकै लागि भिड लाग्ने गरेका छन् ।
स्वास्थ्य बिमाका बिरामीका लागि रिफर लिनुपर्ने बाध्यताले धेरै बिरामी हैरान भएको बगनासकाली गाउँपालिका–५ दर्लमडाँडाका रमेश गैरेले बताउनुभयो । पाल्पा अस्पतालको टिकट काउन्टर दिउँसो १.३० मै बन्द हुने र ढिलो गरी गाउँबाट आएका बिरामीले रिफर बनाउनकै लागि बाँस बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
