जिल्ला अदालत सिन्धुपाल्चोकले आर्थिक वर्ष ०८१÷८२ मा मुद्दा फर्छ्योट तथा न्याय सम्पादन कार्यमा हालसम्मकै सबैभन्दा बढी उच्च सफलता हासिल गरेको छ ।
यस आर्थिक वर्षमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका मुद्दा सङ्ख्या २ सय ६० र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका मुद्दा सङ्ख्या ७ सय ९५ गरि जम्मा १ हजार ५५ थान मुद्दा रहेकोमा यस आर्थिक वर्षमा ८ सय ५५ थान मुद्दा फर्छ्योट गरेको छ । अब यस अदालतमा २ सय थान मुद्दा मात्र बाँकी रहेका छन् । उक्त फर्छ्योट सङ्ख्या जम्मा लगतको ८१.०४ प्रतिशत रहेको छ ।
जिल्ला अदालतले यस आर्थिक वर्ष ०८१÷८२ को वार्षिक कार्ययोजनाले राखेको लक्ष्य अनुसार २ वर्षे मुद्दा सून्य बनाएको, १८ महिना नाघेका मुद्दा सून्य रहेको, बालवालिका प्रतिवादी भएको मुद्दा सून्य बनाएको छ भने एक वर्ष नाघेका मुद्दा पनि ११ थान मात्र रहेको अदालतका श्रेष्तेदार प्रेमप्रसाद पौडेलले बताउनुभयो ।
विगत आर्थिक वर्षको फैसलाको प्रतिशतलाई हेर्दा मुलुकी ऐनलाई प्रतिस्थापन गरी नयाँ मुलुकी संहिता, २०७४ लागु भएपछिका आर्थिक वर्षहरूको तुलना गर्दा आर्थिक वर्ष ०७६/७७ मा ५५ प्रतिशत सफलता प्राप्त भएको थियो । त्यसैगरी ०७७/७८ मा ४०.९१ प्रतिशत, ०७८/७९ मा ५९.६२ प्रतिशत, ०७९/८० मा ७७ प्रतिशत र आर्थिक वर्ष ०८०/८१ मा ७३ प्रतिशत मुद्दा फैसला भएको थियो । यस अदालतको इतिहासमै यस आर्थिक वर्ष ०८१/८२ मा सबैभन्दा धेरै ८१.०४ प्रतिशत मुद्दा फर्छोयोट भएको जिल्ला अदालतका श्रेष्तेदार पौडेलले बताउनुभयो ।
श्रेष्तेदार पौडेलका अनुसार जम्मा जरिवानाको लगत ८० करोड ९८ लाख ७७ हजार ६ सय ४२ रहेकोमा ७ करोड ६९ लाख ३९ हजार ६ सय ४३ असुल गरिएको छ । जरिवानाको ठूलो हिस्सा विदेशी नागरिकबाट असुल गर्नुपर्ने भएकाले त्यसको उठानमा भने चुनौति रहेको छ ।
जिल्ला अदालतले निष्पक्ष, छरितो र सर्वसुलभ न्याय प्रदान गर्ने आफ्नो लक्ष्यप्रति प्रतिवद्ध हँुदै समस्या समाधानका उपायहरू अवलम्बन गर्दै अघि बढेकाले सफलता प्राप्त भएको श्रेष्तेदार पौडेलले बताउनुभयो ।