कास्की कारागारमा चौकीदार नियुक्ति विवाद चुलिएपछि अवस्था तनावपूर्ण बनेको छ । कारागार व्यवस्थापन विभागले नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि अजय गुरुङलाई चौकीदार नियुक्त गरेपछि कैदीबन्दीहरू विरोधमा उत्रिएका छन् । विरोध चर्किएपछि इन्सेक लगायतका मानव अधिकारकर्मीहरूको टोलीले कारागार पुगेर अनुगमन गरेको छ ।
चौकीदारमा अजय गुरुङ ०८२ साउन ४ गते नियुक्त भएलगत्तै कारागारभित्र धर्ना सुरु भएको हो । कैदीबन्दीहरूले ‘नयाँ चौकीदार अस्वीकार्य’ भन्दै व्यानर र पम्प्लेटसहित मूल प्रवेशद्वारमै विरोध कार्यक्रम सञ्चालन गरिरहेका छन् । उनीहरूले विगतका चौकीदार प्रकाश गुरुङलाई नै निरन्तरता दिनुपर्ने माग गरेका छन् । नयाँ चौकीदारले सुरक्षा दिन नसक्ने, आर्थिक शोषण गर्ने र कारागारभित्र अनुशासन कायम राख्न नसक्ने आरोप उनीहरूले लगाएका छन् ।
विरोध चर्किएपछि साउन ४ गते साँझ कारागारभित्र झडप समेत भएको थियो । त्यसपछि प्रशासनले पाँच जना कैदीबन्दीलाई ब्लक ‘क’ बाट अन्य ब्लकमा सार्नुपरेको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख रुद्रादेवी शर्माले जनाइन् । उनका अनुसार मनु परियार, लक्ष्मण ढकाल र सुरज श्रेष्ठलाई ब्लक ‘ख’ मा सारिएको छ भने अजय गुरुङ र प्रकाश गुरुङलाई प्रहरी हिरासतमा राखिएको छ ।
‘एकले अर्कोलाई चौकीदार स्वीकार नगरेपछि झगडा भएको हो । हामी तत्काल घटनास्थलमा पुगेका थियौं । मध्यरातसम्म बसेर अवस्था नियन्त्रणमा ल्यायौं । तर विवाद अझै सतहमै छ’, प्रमुख जिलला अधिकारी शर्माले भनिन् । उनका अनुसार समाधानका लागि छलफल जारी छ ।
नेपालमा कारागार चौकीदार पद स्थायी मानिन्छ । कारागार व्यवस्थापन विभागले प्रत्येक आर्थिक वर्षको सुरुआतमा नयाँ चौकीदार नियुक्त गर्दै आएको छ । नियुक्तिका लागि एउटा समिति गठन हुन्छ, जसमा सहायक प्रमुख जिल्ला अधिकारी, प्रशासन अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र कारागार प्रशासन प्रमुख हुन्छन् । यसपटक समिति मार्फत सिफारिस भई अजय गुरुङको नाम विभागमा पुगेको स्रोत बताउँछ ।
कारागार प्रशासन स्रोतका अनुसार अजय गुरुङसहित मनु परियार, लक्ष्मण ढकाल, सुरज श्रेष्ठ र प्रकाश गुरुङ अन्तिम प्रतिस्पर्धामा थिए । अन्तर्वार्तापछि तीन जनाको नाम सिफारिस गरिएकोमा विभागले अजयलाई छनोट गरेको थियो । तर, कैदीबन्दीहरूले प्रक्रियामा अनियमितता भएको आरोप लगाएका छन् ।
‘प्रकाश गुरुङ नै चौकीदार हुनु पर्नेमा अजयलाई बनाइयो । प्रतिस्पर्धी बाहेकका सबै ३ सय ६२ जनाले प्रकाशकै पक्षमा हस्ताक्षर गरेका थिए । तर विभागले अरूलाई नियुक्त ग¥यो’, ब्लक ‘क’ का नाइके मनिश अधिकारीले भने । उनले नियुक्तिमा आर्थिक चलखेल भएको आरोपसमेत लगाए ।
सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रमण पौडेलले नयाँ चौकीदारको विरोध गरेपछि ज्यान मार्ने धम्की समेत आएको दाबी गरे । ‘हामी असुरक्षित छौं । चौकीदारबाटै खतरा छ । त्यसैले हामी उसलाई अस्वीकार गर्छौं’, उनले भने । १९ वर्षदेखि कैद भुक्तान गरिरहेका गुमानसिंह परियारले प्रकाश गुरुङले सामाजिक, मानसिक र शारीरिक रूपमा सहयोग गर्दै आएको हुँदा निरन्तरता दिनुपर्ने बताए । कैदी विष्णु गिरीले माग पूरा नभए अनशन सुरु गर्ने चेतावनीसमेत दिएका छन् ।
विवाद चर्किएपछि गण्डकीका मानव अधिकारकर्मीहरूको टोलीले कारागार अनुगमन गरेको हुन् । इन्सेक गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेलको नेतृत्वमा कोपिला नेपालकी बिना सिलवाल, गैसस महासंघ कास्कीका पूर्वअध्यक्ष रामप्रसाद सुवेदी, मानव अधिकार एलायन्स कास्की अध्यक्ष मधु पन्थी र नागरिक मञ्च गण्डकी संयोजक विष्णुप्रसाद बरालले संयुक्त रूपमा कारागार अनुगमन गरेका हुन् ।
टोलीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासँग भेट गरी कैदी र चौकीदार दुवै असुरक्षित देखिएकाले सुझबुझपूर्ण निर्णय गर्न आग्रह गरेका छन् । ‘हामीले निरीक्षण गर्दा कारागारभित्र गम्भीर असहमति देखिएको छ । यस्तो अवस्थामा एकले अर्काको अस्तित्व स्वीकार गर्न सक्दैनन् । त्यसैले समाधान संवेदनशील र समावेशी हुनुपर्छ’, इन्सेक प्रमुख खकुरेलले भन्नु भयो । कारागार प्रमुख राजेन्द्र शर्माले हाल भएको विवाद समाधानका लागि प्रक्रिया अगाडि बढाइएको जनाएका छन् ।
