जिल्लामा गरिएको कुपोषित बालबालिकाहरुको खाेजी अभियानका क्रममा २ सय २५ जना बालबालिकामा कुपोषण भेटिएको छ ।
जिल्लाका सबै स्थानीय तहहरु मार्फत ९८ जना स्वास्थ्यकर्मी परिचालन गरी पाल्पामा फेमिली हेल्थ प्रोफाइल तयार गर्ने क्रममा ८ हजार ७ सय २९ जना बालबालिकाहरुमा गरिएको सर्वेक्षणमा २ सय २५ जना बालबालिकामा कुपोषण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताउनुभयो ।
जसमध्ये मध्यम खालका कुपोषित बालबालिका १ सय ८४ जना र कडा खालको कुपोषित बालबालिकाको संख्या ४१ जना रहेको उहाँले बताउनुभयो ।
निमित्त प्रमुख पोखरेलले कुपोषित बालबालिकहरुको संख्या औषतभन्दा बढी भएको बताउनुभयो । उहाँले पछिल्लो समय मानिसहरुको चेतना स्तर बढ्दै गएपनि पत्रुखाना लगायतको प्रयोगले यसप्रकारको समस्या देखिएको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा पाल्पामा पहिलो पटक यस वर्ष फेमिली हेल्थ प्रोफाइल तयार गरिएको हो । यसरी कुपोषण देखिएका बालबालिकाहरुको उचित ब्यवस्थापन तथा सहजीकरणका लागि ५१ जना स्वास्थ्यकर्मीहरुलाई तालिम दिई जिम्मेवारी प्रदान गरिएको उहाँले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले अभिभावकहरु चेतनशील भएको अवस्था र सबै बालबालिकाहरुले पाउनुपर्ने स्वास्थ्य सुविधा सहजै प्राप्त गरेपनि कुपोषित बालबालिकाहरुको संख्या न्यूनीकरणमा समस्या देखिएको बताउनुभयो ।