INSEC Online

📅 २०८३ जेष्ठ २१

नाउला गाउँमा खानेपानी अभाव हुँदा स्थानीयलार्ई सास्ती

परशुराम नगरपालिका–९ नाउला गाउँमा खानेपानी अभाव भएपछि स्थानीयहरुले सास्ती खेप्नुपरेको छ ।  कञ्चनपुर जिल्लासँग सीमा जोडिएको यो वडामा खानेपानीको चरम अभावभएपछि स्थानीयहरुले सास्ती खेप्नपरेको स्थानीय सुनिता बोहराले बताउनु भयो ।

३० परिवारको बसोबास रहेको नाउला गाउँमा दुई ओटा मात्रै खानेपानीका मुहान रहेका, हिउँदमा ती मुहानमा पानी सुक्ने गरेका कारण वर्षको तीन महिना खानेपानीको चरम अभाव खेप्नुपरेको र वडा कार्यालयको न्यून बजेटमा स्थानीयहरुले श्रमदान गरी मुहानबाट ल्याइएको पानी टंकीमा पानी भर्नका लागि घण्टौ पालो कुरेर बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनु भयो ।

‘मुहान नजिक वडाको बजेट र स्थानीयको श्रमदानबाट ट्याङ्की  निर्माण गरिएको छ । बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म खुला रहन्छ । दुई घण्टा जति मात्रै पानी आउछ । एक जनालाई २० लिटर मात्रै पानी भर्न पाइन्छ, उहाँले भन्नुभयो ।

स्थानीय धनबहादुर ठगुन्नाले गाउँलेहरु खानेपानीको चरम समस्या झेल्दै आएको बताउनु भयो । १० जनाको परिवार भएका उहाँले आफूहरु पानीको अभाव भएपछि दुई किलोमिटर ओरालो गएर ओखलढुङ्गा गाउँबाट पानी बोकेर ल्याउने गरेको दुखेसो पोख्नु भयो ।

photo20250714dadeldhura

उहाँले भन्नुभयो–‘ खानेपानीको अभाव भएपछि २० लिटर ग्यालेनको पानीलाई २ सय रुपियाँ यातायत भाडा तिरेर ल्याउनु पर्ने बाध्यता छ ।’

नाउला गाउँ दैजी जोगबुडा सडक खण्डमा पर्ने भएका कारण उक्त गाउँमा सोही वडाका देवेन्द्र खत्रीले होटल व्यवसाय गर्दै आउनु भएको छ ।

होटलका लागि दैनिक ४ हजार लिटर जति आवश्यक पर्ने पानी जीपबाटै ढुवानी गरेर ल्याउने गरेको होटल व्यवसायी देबेन्द्र खत्रीले बताउनु भयो । उहाँले भन्नुभयो–‘मेरो होटलमा दैनिक ४ हजार लिटर पानी आवश्यक पर्छ, । होटलमा आवश्यक पर्ने पानी पाच किलोमिटर तलको गाउँ विरल्थलाको मुहानबाट जिपमा भाडा तिरेर ल्याउने गरेको छु ।’

लिफ्ट सिस्टमबाट पानी तान्न विद्युत अभावका कारण नाउला गाउँमा पानी ल्यान नसकिएकोले हाल विद्युत विस्तारको कार्य भइरहेको परशुराम नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष देवबहादुर बोहराले बताउनु भयो ।

मुहान भएको पनी गाउँसम्म पुगाउनका लागि विद्युतको आवश्यकता पर्ने भएकोले विद्युतका पोलहरु विस्तार गर्ने कार्य भइरहेको र बजेट अभाव हुनेभएकोले प्रदेश सरकारसँग समन्वय समेत गरिएको उहाँले बताउनु भयो ।

अन्य

भिडियो