भोटेकोशी गाउँपालिका— ५ मार्मिङकी ११ वर्षीया बालिकाको पाँच जना युवाले सामुहिक बलात्कार गरी हत्या गरेको घटनाको तथ्य सङ्कलन गर्न इन्सेक जिल्ला प्रतिनिधिको नेतृत्वमा गएको टोलीले घटनाको स्थलगत अध्ययन गरी तथ्य सङ्कलन कार्य पुरा गरेको छ ।
आरोपितहरू भोटेकोशी गाउँपालिका— ५ मार्मिङका २२ वर्षीय वाङनिमा तमाङ सोही ठाउँका ३२ वर्षीय नाम्ग्याल शेर्पा, २० वर्षीय दावा तमाङ, २२ वर्षीय लाक्पा पासाङ तमाङ र २१ वर्षीय निमातेञ्जिङ तमाङले ०८२ असार १० गते राती १०ः३० बजेको समयमा घरमा सुतिरहेकी बालिकालाई बोलाएर लगेका थिए ।
पीडित बालिकालाई आरोपितमध्ये दुई जनाले घरबाट बोलाएर लगेका थिए । पीडितलाई लैजानेक्रममा नजिकै रहेको गोठमा पु¥याई बालिकाको बाहिरी कपडाहरू खोलेर केहि पर मकैबारीमा पुर्याएका थिए । मकैबारीमा बसेका अन्य तीनजना समेत गरी पाँच जनाले सामुहिक बलात्कार गरेको घटनाक्रम र घटनास्थलको प्रकृतिले पुष्टी गर्दछ । पीडित बालिकाको मकैबारीमा भित्रि कपडाहरू भेटिएका छन् ।
पीडितले आरोपितहरूलाई चिनेको हुनाले पोल खुल्ने डरले पीडितको घाँटी कसी, अनुहारमा ढुङ्गाले किचेर हत्या गरेको आङ्का गर्न सकिन्छ । हत्यापछि मादक पर्दाथ र अन्य लागु औषध सेवन गरी लठ्ठीएका आरोपितहरूले नजिकै रहेको छ्यादी खोलामा शवलाई फाल्ने उद्देश्यले भिरबाट खसालेका थिए । तर रुख र ढुङ्गाको कारणले शव माथि नै अड्किएको थियो ।
भोलिपल्ट आफन्तले शव पहिचान गरी प्रहरीलाई खवर गरेका थिए । प्रहरी घटना स्थल पुगि अनुसन्धान प्रक्रिया शुरु गरेको पाइएको छ । अनुसन्धान गर्ने क्रममा प्रहरीले आरोपितहरू मध्ये चार जनालाई असार ११ गते र अन्य एक जनालाई असार १३ गते गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको छ ।
घटनाबाट आतङ्कित बनेका पीडित परिवार, स्थानीय बालबालिका, महिलाहरूको मनोबल बढाउने र लागु औषध दुर्वेसनी बिरुद्ध सचेतना अभिवृद्धि गर्नुपर्ने स्थलगत अवलोकनको क्रममा देखिएको छ ।
असार २४ गते घटनाको तथ्य सङ्कलन गर्न गएको टोलीमा इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धिताल र महिला मानव अधिकार रक्षक जिल्ला सञ्जालकी सदस्य रश्मी सिल्वाल रहनु भएको थियो ।
