नेपाल पत्रकार महासंघ रामेछापका वाग्मती प्रदेश परिषद् सदस्य २६ वर्षीय सम्मरबहादुर हायु (प्रशान्त) माथि ०८२ असार २१ गते साँझ रेडियोमा काम गरिरहेको अवस्थामा मन्थली माविमा कार्यरत शिक्षक ४२ वर्षीय ऋषि कार्कीले मादक पदार्थ सेवन गरी कुटपिट र दुर्व्यवहार गरेको भन्दै पत्रकार महासंघ रामेछाप शाखाले निन्दा गरेको छ ।
नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले २०८२ असार २४ गते एक विज्ञप्ति जारी गरी सो कार्यको निन्दा गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबुकमा कुनै व्यक्ति र चरित्रको नाम उल्लेख नगरी राखिएको स्ट्याटसलाई लिएर हायु माथि आक्रमण गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा यस्तो घटना प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथिको सिधा हमला भएको भन्दै आपत्ति जनाइएको छ ।
शिक्षक जस्तो मर्यादित पेसामा रहेको व्यक्तिबाट भएको सो घटना दुःखद भएको महासंघले जनाएको छ । महासंघले यस्ता घटनाले शिक्षा क्षेत्रकै मर्यादा र समाजमा गलत सन्देश फैलाएको भन्दै दोषीलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । घटनाको पुनरावृत्ति नहोस् भनेर आवश्यक सुरक्षा व्यवस्था मिलाउन समेत माग गरिएको छ ।