INSEC Online

📅 २०८३ जेष्ठ २१

आफन्तबाटै सुरक्षित छैनन्  कर्णालीका महिला र बालबालिका, तीन वर्षमा ४१ जनाको हत्या !

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँकी ३० वर्षीया देविका बुढाथोकीको असार १७ गते राति विभत्सव हत्या भयो । हत्या गर्ने बाहिरका कोही थिएनन्, पति ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकी हुन् । उनले देविकालाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरे । सोही दिन नै इलाका प्रहरी कार्यालय चौरजहारीबाट गएको प्रहरी टोलीले चन्द्रबहादुरलाई खुकुरी सहित नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । वषौंदेखि पतिले गरेको हिंसाकै कारण देविकाले ज्यान गुमाउन पर्‍याे ।

भेरीगंगा नगरपालिका–१२ स्थित झिंगेनारा खोलामा गुर्भाकोट नगरपालिका–८ की २६ वर्षीया प्रेमा ओलीको वैशाख २१ गते नेपाली सेनामा कार्यरत पति २८ वर्षीय दर्शन खत्रीले हत्या गरे । मृतकका माइती पक्षले वैशाख २२ गते इलाका प्रहरी कार्यालय छिन्चुमा कर्तव्य ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता गराएपछि प्रहरीले खत्रीलाई गिरफ्तार गर्‍याे ।

बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपातलका तीन वर्षीया करिष्मा राना र ६ महिने राघवी रानाको ०८१ पुस २३ गते आमा २५ वर्षीया पूर्णिमा रानाले घाँटी थिचेर हत्या गरिन् । दुवै जना बालिकाहरू पुस २४ गते बिहान आफ्नै घरभित्र मृत अवस्थामा फेला परेपछि प्रहरीले पुर्णिमालाई गिरफ्तार गरेर अनुसन्धान गर्‍याे।

पञ्चपुरी नगरपालिका–६, कुवापानीका २१ वर्षीय युवक भरत बुढाको ०८० माघ १ गते बाबु ४५ बर्षीय नयाराम बुढाले बञ्चरो प्रहार गरेर हत्या गरे । मृतकका काकाले माघ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि फरार रहेका उनी कैलालीको टिकापुरबाट प्रहरीले गिरफ्तार गर्‍याे । सुर्खेत जिल्ला अदालतको आदेशले ०८१ जेठ ५ गते उनलाई २० वर्षको कैद सजायको फैसला सुनायो ।

माथि उल्लेखित घटना त प्रतिनिधिमूलक हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार प्रदेशका १० जिल्लामा पछिल्ला तीन आर्थिक वर्षको अवधिमा आफन्त वा परिवारका सदस्यबाट ४१ जनाको हत्या गरिएकाे छ । आर्थिक वर्ष २०७९/०८० मा १० ओटा, आर्थिक वर्ष ०८०/०८१ मा २२ र आर्थिक वर्ष ०८१/०८२ को असार २२ गतेसम्म नौं ओटा हत्या परिवारजनबाटै भएका छन् । ०७९/०८० मा पतिबाट पत्नीको हत्या गरिएका नौं ओटा, ०८०/०८१ मा पनि नौं र ०८१/०८१ मा चार ओटा घटना  छन् । पत्नीद्वारा पतिको हत्या ०८०/०८१ मा दुई र ०८१/०८२ मा एक ओटा घटना छन् । यो तीन वर्षमा भाईद्वारा दाजुको हत्या दुई, बुबाद्वारा छोराको हत्या तीन, छोराद्वारा बुबाको हत्या दुई ओटा रहेका छन् । त्यस बाहेक सौतिनी आमाद्वारा छोरीको हत्या, भाउजुद्वारा देवरको हत्या, देउरानीद्वारा जेठानीको हत्या, भिनाजुद्वारा सालाको हत्या, मामाद्वारा भन्जाको हत्या, जेठाजुद्वारा बुहारीको हत्या, छोराद्वारा आमाको हत्या, बुहारीद्वारा सासुको हत्या र आमाद्वारा छोरीको हत्या एक/एक ओटा घटना रहेका छन् ।

माथिको तथ्याङ्क हेर्दा पतिबाट पत्नीको हत्याको संख्या बढी देखिन्छ । यी घटनालाई हेर्दा आमाबाट छोरीको हत्या, छोराबाट आमाको हत्या जस्ता हृदयविदारक घटनाहरू पनि तथ्याङ्कमा छन् । परिवारजनबाटै हत्या हुनमा आर्थिक, सामाजिक, मानसिक र यौनिक कारणहरु रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी माधव प्रसाद श्रेष्ठ बताउनुहुन्छ । ‘यस्ता घटनामा एउटा मात्रै कारण भन्ने छैन । त्यसमा विभिन्न विषयहरु हुन्छन् । अधिकांश हत्या आपसी विवाद, शंका, अविश्वास र बारम्बारको झगडाबाट भएको देखिन्छ,’ उहाँले भन्नुभयाे, ‘पत्नी माथिको हत्या प्राय दम्पतीबीचको अधिकार असन्तुलन र लिङ्गीय हिंसाबाट प्रेरित देखिन्छ ।’ उहाँका अनुसार धेरै घटनाका मुख्य कारक मादक पदार्थ सेवनपछिका झगडाबाट उत्पन्न भई मानसिक अस्थिरतासम्म रहेका छन् ।

घरभित्र सुरक्षित हुने विश्वास विपरित, नजिकका नातेदारहरूबाटै हत्या हुनु कर्णालीमा बढ्दो सामाजिक विघटन र पारिवारिक सम्बन्धमा आएको संकट भएको महिला तथा बालबालिको क्षेत्रमा काम गर्दै आएको आवाज संस्थाकी निर्देशक पवित्रा शाही बताउनुहुन्छ । ‘महिलाको मुद्दामा पछिल्लो समय कम बहस पैरवी भएका छन् । अर्को कुरा देखासिकी पनि एक हो,’ उहाँले भन्नुभयाे, ‘हत्या गरिएकाप्रति नकरात्मक आरोप नलगाई कानूनले मात्र होइन, समाजले पनि घरभित्रको हिंसा चिन्न र रोक्न भूमिका खेल्नुपर्छ ।’ हत्या भएका परिवारहरू आर्थिक संकटसँगै बालबालिका अभिभावकविहीन बन्दा अर्को समस्या आउने गरेको उहाँको भनाइ छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले परिवारजनबाटै हत्या गरिएका यी घटनाले घरभित्रको असुरक्षा उजागर गरेको बताउनु भयाे । ‘पहिलो कुरा यस्ता घटनाको सजायमा समस्या छ । यदी सजाय भएपनि राजनीतिक रुपमा संरक्षण गर्ने, आममाफी दिने कुराले झनै प्रश्रय दिएको पाइन्छ,’ उहाँले भन्नुभयाे, ‘घरमै यति धेरै हत्या हुनु भनेको राज्य, समाज र परिवार तीन वटै तह असफल भइरहेको देखाउँछ ।’ उहाँले सामाजिक चेतना, महिला सुरक्षा र मानसिक स्वास्थ्य जस्ता क्षेत्रलाई सम्बोधन गर्न राज्यको सक्रियता नदेखिनु थप चिन्ताको विषय बनेको बताउनु भयाे । उहाँका अनुसार कर्णाली प्रदेशभर इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा आफन्त र अन्य पक्षबाट ३६ जनाको हत्या गरिएको अभिलेख राखेको छ  । त्यस्तै २०२५ मा  २७ जनाको हत्या गरिएको इन्सेकसँग अभिलेख छ । यी संख्यामा महिलाको बढी हत्या भएको छ ।

महिलामाथि हुने घरेलु हिंसाको सम्बन्धी कानुन भए पनि लागू गर्ने संयन्त्र कमजोर देखिँदा यस्ता घटनाहरु बढिरहेको अधिकारकर्मीहरुको भनाइ छ । पीडित महिलाको पक्षमा काम गर्ने सेफ हाउस, मनोपरामर्श, कानुनी सहायता लगायतका संरचना कर्णालीमा सीमित छन् । जसका कारण यस्ता घटना न्यूनिकरण गर्न चुनौती थपिएको छ ।

अन्य

भिडियो