जिल्ला सदरमुकाम खलंगाका स्थानीयहरु मानव स्वास्थ्यका लागि घातक हुने इकोली जीवाणु रहेको पानी पिउन बाध्भएको पाइएको छ । जिल्ला सदरमुकाम खलंंगाले वितरण गरेको खानेपानीमा स्वास्थ्य कार्यालय, दार्चुलाले पाँच स्थानबाट परीक्षणका लागि संकलन गरेको नमूनामध्ये चार स्थानको पानीमा इकोली जीवाणु फेला परेको हो ।
०८२ असार महिनको पहिलो साताबाट सदरमुकाम खलंगामा वितरण गरिएको पानी दूषित भएको भन्दै स्थानीयले सामाजिक सञ्जालमा लेख्दै आएका थिए । तर, दुई सातासम्म कुनै सुनुवाइ नभएपछि स्थानीय र नागरिक समाजले जिल्ला प्रशासन कार्यालयलाई सरोकारवालाको बैठक आह्वान गर्न अनुरोध गरेपछि मात्रै असार १५ गते प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बैठक बोलाइ तत्काल खानेपानीमा देखिएको समस्या पत्ता लागाउन स्थलगत अनगुमन गरी पानीको स्याम्पलिङ गर्न निर्देशन दिनुभएको थियो ।

सोही अनुसार खानेपानी कार्यालय, उपभोक्ता समिति र स्वास्थ्य कार्यालयको टोलीले असार १६ र १७ गते संयुक्त रूपमा स्थलगत निरीक्षण गर्दै पानीको नमूना संकलन गरेका थिए । परीक्षणमा राष्ट्रिय खानेपानी गुणस्तर निगरानी निर्देशिका, ०७० (प्रथम संशोधन ०७६) अनुसार पानीको गुणस्तर नपुगेको उल्लेख गरिएको छ ।
खलंगाको महाकाली नगरपालिका वडा नं. ४ र ५ का करिब २ हजार २ सय घरधुरीमा गडाकु खोलाबाट ल्याइएको पानी वितरण भइरहेको छ । दूषित पानीको कारण स्वास्थ्यमा गम्भीर असर परेको भन्दै समाधान गर्न आग्रह गरिएको नागरिक समाज, दार्चुलाका अध्यक्ष महेशराज भट्टले बताउनु भयो । हामीहरुको निरन्तर खबरदारीको कारण पानीको गुणस्तर परीक्षण र मुहान क्षेत्रको अनुगमन भयो । यसले खलंगामा वितरण गरिएको पानी राम्रो नभएको पाएपछि अहिले सुधारको कार्य भइरहेको छ ।

स्वास्थ्य कार्यालय, दार्चुलाका प्रमुख बीरेन्द्रप्रसाद भट्टका अनुसार दूषित पानीकै कारण पानीमा इकोली देखिएको पुष्टि भएको छ । पछिल्लो दुई सातादेखि धमिलो पानी आउने गरेको स्थानीयहरुले गुनासो गरेपछि मात्रै मुहान अनुगमन र पानी परीक्षण गरिएको थियो ।
पानीको मूल स्रोत, प्रसोधन युनिट र उपभोक्ताको धारासम्मको पानीमा इकोली पाइएको स्वास्थ्य कार्यालय प्रमुख भट्टको भनाइ छ । पानी प्रयोग गर्दा उपभोक्ता सचेत हुनु आवश्यक छ । पानीमा क्लोरिनको मात्रा समेत राष्ट्रिय खानेपानी गुणस्तर निगरानी सर्विलेन्स निर्देशिका ०७० र प्रथम संसोधन ०७६ को मापदण्डअनुसार नभएको भन्दै नियमित रूपमा क्लोरिन मिसाएर मात्रै पानी वितरण गर्न खलंगा शहरी खानेपानी आयोजनालाई सुझाव दिइएको उहाँले बताउनु भयो ।
अध्ययन प्रतिवेदनका आधारमा स्वास्थ्य कार्यालयले पानीको मुहान क्षेत्र वरिपरिको सरसफाइ, छेकबार, रेखदेख र वितरण पाइपहरूबाट अन्य दूषित पानी मिसिन नदिन नियमित अनुगमन र निगरानी गर्नु पर्ने सुझाव दिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

स्वास्थ्य कार्यालयको प्रतिवेदन अनुसार महाकाली नगरपालिकामार्फत खलंगा शहरी खानेपानी आयोजनालाई पानीको गुणस्तर सुधार र सरसफाईमा ध्यान दिन भनिएको उहाँको भनाइ छ । साथै, सरसफाई सन्देश, उपभोक्तालाई कम्तीमा असार, साउन र भदौ महिनासम्म खानेपानी शुद्धिकीकरण तथा उमालेर खाने बानीको विकास गर्न सञ्चारमाध्यम मार्फत सूचना सन्देश प्रसारण गर्न भनिएको छ ।
पानीमा मृत कुकुर फालिएको भिडियो सार्वजनिक भएपछि स्थानीयबासीहरू खलंगा नजिकैका मुहान पुगेर पानी ल्याउन बाध्य समेत भएका थिए । बर्खायाम सुरु भएसँगै मुहानमा थप प्रदूषण हुन सक्ने भन्दै स्वास्थ्यकर्मीहरूले पानी उमालेर वा फिल्टर गरेर मात्रै पिउन आग्रह गरेका छन् ।

एसियाली विकास बैंकको ७० प्रतिशत अनुदान, नगर विका कोसषको २५ प्रतिशत ऋण तथा बाँकी उपभोक्ताबाट उठाइएको रकमबाट आयोजना सञ्चालन गरिएको हो । आयोजना अन्तर्गत डुङरीमा राखिएको फिल्टर प्रणालीले समेत प्रभावकारी रूपमा काम नगरेको स्थानीयहरुको गुनासो छ ।