INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिकाले सबै प्रकारका खोप पाएपछि पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा

१५ महिनादेखि ५९ महिनाका सबै बालबालिकाहरुले पाउनु पर्ने सम्पूर्ण खोपको मात्रा पुराभएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका सबै बालबालिकालाई १३ प्रकारका खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जनस्वास्थ्य कार्यालय, कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत ओम प्रकाश जोशीले बताउनु भयो ।

२ सय २९ जना नियमित खोप लगाउन छुटेका बालबालिका सहति २३ हजार ९३ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेकोले जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय, कञ्चनपुरका प्रमुख जोशीले बताउनु भएको छ ।

photo20250707kanchanpur (1)

जिल्लाका नौ ओटा स्थानीय तहलाई ०८२ जेठ र असार महिनाको पहिलो हप्तामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरी सकेको उहाँले बताउनु भयो ।

जिल्ला खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खडकाले कञ्चनपुर जिल्ला पूर्ण खोप सुनिश्चितता भएको घोषणा गर्दै खोप अभियानलाई पूर्णता दिइने र खोपबाट कोही पनि बालबालिका वञ्चित हुन नपर्ने बताउनु भयो ।

वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले विगतका दिनहरुमा बालबालिकाको जन्मदर बढी हुने तर धेरैले बालबालिकाहरुले खोप नपाएर मृत्यु हुने गरेको भए पनि अहिले बालबलिकाहरुले सबै खोप पाएपछि बाल मृत्यु दरमा कमी आएको बताउनु भयो ।

राष्ट्रिय खोप तालिका अनुसार १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई १३ ओटा खोप प्रदान गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समिति, कञ्चनपुरका प्रमुख तथा खोप समन्वय समितिका संयोजक दुर्गादत्त बोहराले बताउनु भयो ।

photo20250707kanchanpur (2)

बालबालिकाले पाउनुपर्ने खोपका सबै सूचकाङ्क पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको र जिल्लालाई पूर्ण खोपयुक्त गर्ने अभियानमा सहयोग गर्ने उत्कृष्ट नौ जना जनस्वास्थ्यकर्मीलाई प्रशंसा–पत्र सहित जनही ५ हजार रुपियाँ प्रदान गरी सम्मान गरेको उहाँले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटी र बाजुरा जिल्लालाई यसअधि नै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणापछि कञ्चनपुर जिल्लालाई पनि घोषणा गरिएको र अन्य जिल्लाका बालबालिकालाई पनि पूर्ण खोप प्रदान गर्ने अभियान सञ्चालन भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अन्य

भिडियो