घोराही उपमहानगरपालिका–१८ की २१ वर्षीया गुड्डी सुनारको प्रसूतिको क्रममा असार २० गते मृत्यु भएपछि मृतकका आफन्तले गरेकाे आन्दाेलनका कारण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको आपतकालीन सेवाबाहेक अरु सबै सेवा अवरुद्ध भएको छ ।

प्रदर्शनकारीले अस्पताल घेराउ गर्दै पोष्ट अप्रेशन रुम तोडफोड गरेका छन् भने प्रतिष्ठानमा कार्यरत सर्जरीका डा. दिपेन्द्र खड्का र एनेस्थेशीया डा. राजन शाक्यमाथि हातपात गरेका छन् । प्रदर्शनकारीका कारण चिकित्सकसहित स्वास्थ्यकर्मीहरु भागभागको अवस्था सिर्जना भएको प्रतिष्ठानका सूचनाअधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयो । प्रदर्शनकारीले सेवा अवरुद्ध गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने भर्ना भएका र आपतकालीन बिरामीलाई मात्रै सेवा प्रदान गरिएको छ ।

शव अस्पतालमै राखेर अस्पताल प्रशासन र पीडित पक्षबिच असार २१ गते बिहानैदेखि वार्ता भइरहे पनि सहमति हुन सकेको छैन । पीडितहरुले क्षतिपूर्ति स्वरुप रकम माग गरेका छन् भने प्रतिष्ठानले आर्थिक सहयोग गर्न नसकिने बताएको छ । घटनाबारे प्रतिष्ठानले कुनै औपचारिक प्रतिक्रिया भने दिएको छैन । आन्दोलनकारीले चिकित्सकमाथि कारबाही हुनुपर्ने र उचित क्षतिपूर्ति उपलव्ध गराउनुपर्ने माग अघि सारेर आन्दोलन गरिरहेका छन् ।
