मार्मा गाउँपालिका वडा नम्बर ६ स्थित सिराडभूमि आधारभूत विद्यालय छिपानमा कक्षा १ देखि ८ सम्म अध्ययनरत बालबालिकाहरु विद्यालय भवनको अभावमा त्रिपालमूनि बसेर पढ्न बाध्य छन् । सशस्त्र द्धन्द्धकालमा निर्माण गरिएको चार कोठे विद्यालय भवन जीर्ण भएर भत्किन थालेपछि विद्यालयले बालबालिकाहरुलाई त्रिपालमूनि राखेर पढाउन थालेको हो ।
विद्यालयको अधिकांश भवन जीर्ण अवस्थामा छन् । ‘चार कोठे भवनको सरीया सिमेन्ट कक्षा कोठामा झर्न थालेपछि विद्यार्थीलाई जोखिम भयो,’ विद्यालयका प्रधानाध्यापक प्रेमसिह डडालले भन्नुभयो, ‘बर्खाको बेला भवन भत्किएर केहि भइहाल्यो भने के गर्ने भनेर विद्यार्थीलाई त्रिपालमा राखेर पढाउन थालेका हौं ।’

प्रधानाध्यापक डडालका अनुसार कक्षा ६ र कक्षा ७ का विद्यार्थीलाई विद्यालयले त्रिपाल खरिद गरेर कक्षा बनाएको छ । कक्षा ६ मा ८ जना र कक्षा ७ मा ११ जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयमा कुल १ सय १ जना विद्यार्थी छन् । भौतिक पूर्वाधार जीर्ण अवस्थामा छन् । ०७७ । ०७८ सालमा गाउँपालिकाले दुई कोठे भवन निर्माण गरेको थियो । त्यही भवनकोमाथि अहिले त्रिपाल राखेर कक्षा सञ्चालन भइरहेको डडालले बताउनु भयो ।
०६० साल अघि जिल्ला शिक्षा कार्यायले निर्माण गरेको दुई कोठे भवन पनि जीर्ण अवस्थामा पुगेको छ । भवन भत्किने खतरा भएको छ । नयाँ भवनको लागि दुई वर्षदेखि सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गर्दैआए पनि हालसम्म सुनुवाइ नभएको उहाँले बताउनु भयो ।

एकातिर गर्मीको समय छ । अर्कोतिर बर्खा सुरु भएको छ । चार कोठेसँगै अर्को दुई कोठे भवन पनि जीर्ण भएर समस्या हुनेवाला छ, प्रधानाध्यापक डडालले भन्नुभयो । विद्यालयको भौतिक अवस्था बारे स्थानीय तहलाई जानकारी भए पनि नयाँ भवन निर्माण हुन सकेको छैन् ।
कहिबाट भवन निर्माण हुन नसक्ने अवस्था आएपछि कक्षा प्रभावित हुन नदिन त्रिपालमा राखेर पढाई गरिएको प्रधानाध्यापक डडालको भनाइ छ ।
मार्मा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सन्तोषसिह कोट्टारीले विद्यालय भवन जीर्ण रहेको भए पनि त्रिपालमूनि कक्षा सञ्चालन गर्नु पर्ने अवस्था बारे जानकारी नआएको बताउनु भयो । मैले पनि सामाजिक सञ्जालमा तस्बिर देखेपछि थाहाँ पाए । यो विषयमा विद्यालयसँग जानकारी लिइरहेको छु । आगामी आर्थिक वर्षमा दुई कोठे विद्यालय भवन निर्माणको लागि बजेट विनियोजन गरिएको वडा अध्यक्ष कोट्टारीले बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष जमनसिह धामीले विद्यालय भवन अभाव हुने अवस्था आएपछि आगामी वर्षको लागि २० लाख रुपियाँ बजेट विनियोजन गरिएको बताउनु भयो । तर, त्रिपालमूनि विद्यार्थीलाई पढाई रहेको विषयमा आफूलाई विद्यालयले कुनै जानकारी नगरेको उहाँको भनाइ छ ।
