हुम्ला जिल्लाको उत्तरी क्षेत्रका एक दर्जन हिमतालमा अहिले पानीको सतह घट्दै गएको छ । जलवायु परिवर्तनका कारण हिउँदमा हिमपात कम हुनु र तापक्रम बढ्दै गएपछि हिमतालमा पानीको सतह घट्दै गएको हो ।
नाम्खा गाउँपालिका–३ का उर्गेन लामाले न्यालु, छुवा, ताक्ची, लाप्चा क्षेत्रका एक दर्जन हिमतालमा पानीको सतह घट्दै गएको बताउनुभयो । उहाँले न्यालु क्षेत्रको ४ हजार ५ सय मिटर उचाइमा रहेको सेलिमाङ तालको ७५ प्रतिशत पानी सुकेको जानकारी दिनुभयो ।
गत वर्ष यो समयमा उक्त तालमा पानीको सतह राम्रै भए पनि यो वर्ष यही समयमा पानी घटेर पोखरीका रूपमा देखिन थालेको उहाँले बताउनुभयो । त्यसैगरी ताक्ची क्षेत्रमा बस्दै आउनुभएका फुन्जोक लामाले पनि निकै ठुलो जादेको तालको पानीको सतह घटेर गएको उल्लेख गर्नुभयो ।
उहाँले यी दुई क्षेत्रको मात्र नभएर लाप्चातिरका सात वटा हिमतालमा पानीको सतह घटेको मात्र नभएर दुई वटाको त पानी नै सुकेको बताउनुभयो । उच्च पाटन क्षेत्रमा हिमतालमा पानी सुकेपछि चौँरी गाईलाई पिउने पानीको समस्या भएको उहाँले बताउनुभयो । नाम्खा गाउँपालिका उच्च पाटनमा २० भन्दा बढी हिमताल रहेको र तीमध्ये अधिकांशको पानीको सतह घट्दै गएको नाम्खा गाउँपालिका–६ का वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।
हिउँ धेरै नपर्नु, तापक्रम बढ्नु र जलवायु परिवर्तनका कारण यो अवस्था सिर्जना भएको उहाँको भनाइ छ । बाह्रै महिना हिउँ जमिरहने हिमालमा पछिल्लो समय हिउँ पग्लेर काला पत्थर देखिन थालेपछि पानीको स्रोत नै नभएपछि हिमतालमा पानी घट्नु र सुक्नु स्वाभाविक भएको उहाँले बताउनुभयो । नाम्खा गाउँपालिका मात्र नभएर सिमकोट गाउँपालिका–४ को पञ्चमुखी हिमाल क्षेत्रको दुधे दह र लडे दहको पानी पनि सुकेको स्थानीय छिरिङ लामाले बताउनुभयो । हिउँदमा हिउँ पर्न कम भएपछि अब यस्ता हिमताल सुक्ने सम्भावना बढी रहेको उहाँको भनाइ छ ।
विश्वव्यापी रुपमा तापक्रम बढ्दै गएकोले हिमतालहरू सुक्दै गएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । उहाँका अनुसार यसको मुख्य समस्या भनेको हिउँदको समयमा हिउँ नपर्नु र जलवायु परिवर्तनको मुख्य प्रभावले यस्तो हुन सक्ने बताउनुभयो ।
