हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलका २२ वर्षीय राहुल दासलाई एकैघर बस्ने भाउजू ३५ वर्षीया गुडिया दासको हत्या गरेको र दाजु २८ वर्षीय रुपेश दासको ज्यानमार्ने उद्योग गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ३५ वर्ष कैद र मृतक भाउजूको हकदारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउने फैसला भएको छ । जिल्ला अदालत मकवानपुरकी न्यायाधीश अवनी मैनाली भट्टराईको ०८२ असार १२ गते बसेको इजलासले उक्त फैसला गरेको हो ।
भाउजूको हत्या गरेको कसुरमा २५ वर्ष कैद र माहिला दाजुको हत्या गर्ने उद्योगको कसुरमा थप १० वर्ष कैद गरी जम्मा ३५ वर्ष कैद हुने फैसला सुनाइएको जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकले बताउनु भयो ।
राहुले २०८१ चैत १३ गते भाउजु गुडियाको हत्या गरी दाजु रुपेसलाई मार्न खुकुरी प्रहार गरी घाइते तुल्याएका थिए । प्रहरीले पीडित पक्षको उजुरीको आधारमा राहुलाई गिरफ्तार गरी अनुसन्धान अघि बढाएको थियो ।