जिल्ला कारागार, कैलालीमा कैद भुक्तानका लागि राखिएका डडेल्धुरा जिल्ला भोगेश्वर गाउँपालिका—५ का २८ वर्षीय हरीश पालीको ०८२ असार २ गते उपचारका क्रममा मृत्युभएपछि प्रहरीले घटनाका आरोपित जिल्ला प्रहरी कार्यालय, कैलालीमा कार्यारत सई हरजीत नाथलाई ०८२ असार ५ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीमा कार्यरत सई नाथले पाली विरुद्ध लेनदेन अन्तर्गत जिल्ला अदालत, कैलालीमा मुद्दा दर्ता गरेको आधारमा जिल्ला अदातल, कैलालीले कसूर ठहर गरेको भए पनि सई नाथले पालीसँग पैसा असुल्ने, पालीका परिवारलाई धम्की दिने, पैसाको बार्गेनिङ गर्ने र प्रहरी पोशाकको आडमा कुटपिट गरी पालीको हत्या गरेको आरोपमा पीडित पक्षले किटानी जाहेरी दिएपछि आरोपित नाथलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी राजकुमार सिंहले बताउनु भयो ।
जिल्ला कारागार, कैलालीमा कैद भुक्तानका लागि राखिएका पालीलाई योजनावद्ध रुपमा कुटपिट गर्ने र कुटपिट गर्न लगाएर हत्या गरिएको भन्दै आरोपित नाथ विरुद्ध पीडित पक्षले दिएको किटानी जाहिरी असार ५ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा दर्ता भएपछि आरोपित नाथलाई प्रहरीले गिरफ्तार गरेको हो ।
किटानी जाहिरी दर्ताभएपछि मात्रै प्रहरीले आरोपित नाथलाई गिरफ्तार गरेको मृतकका दाई जीवन क्षेत्रीले बताउनु भयो ।
जिल्ला कारागार, कैलालीमा कैद भुक्तानका लागि राखिएका पालीको ०८२ असार २ गते राति उपचारको क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएपछि घटनाको छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेत्तुत्वमा पाँच सदस्यीय छानविन समिति समेत गठन गरिएकोे छ ।
मृतक पालीको शरीरभरी निलडाम र टाउँकोमा समेत चोटपटक देखिएकोले कुटपिट गरी हत्या गरिएको भन्दै शव बुझ्न अस्विकार गरी पीडित पक्षले असार ४ गतेदेखि डडेल्धुरा बजार बन्द गरी सडक अवरुद्ध गर्दै आन्दालेन सुरु गरेपछि घटना रहस्यमय देखिएकोले घटनाको निश्पक्ष छानविन गरी पीडित परिवारलाई न्याय दिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेत्तुत्वमा छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताउनु भयो ।
पीडित पक्षलाई अन्याय नहुने गरी घटनाको सत्यतथ्य छानबिन गर्न र सात दिन भित्र प्रतिवेदन बुझाउने गरी छानविन समिति गठन गरिएको उहाँको भनाइ छ ।
लेनदेन मुद्दामा जिल्ला अदातल, कैलालीले ०८० फागुन २९ गते कसूर ठहर गरी पालीलाई १० दिन कैद र २ लाख रुपियाँ जरिवानाको फैसला गरेको थियो । फरार कसूरदार पालीलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले ०८२ जेठ ३० गते घरबाट गिरफ्तार गरेर जिल्ला अदालतमा उपस्थित गराई असार १ गते अदालतको पुर्जीसहित जिल्ला कारागार, कैलालीलाई बुझाएको थियो ।
आफूहरुले दिएको किटानी जाहेरी दर्ता भई आरोपितलाई समेत प्रहरीले गिरफ्तार गरी अनुसन्धान सुरुगरेपछि तीन दिनदेखि सेती प्रादेशिक अस्पतालको शवगृहका राखिएको शवको पोष्टमार्टमको तयारी भइरहेको र भोली शव बुझेर दाहासस्कार गरिने मृतकका दाजु जिवन क्षेत्रीले बताउनु भयो ।