सर्केगाड गाउँपालिका–१ तुम्चगाउँका ५० वर्षीय मानबहादुर रावतलाई ०८२ असार ३ गते सर्केगाड गाउँपालिका–१ स्थित अस्थायी प्रहरीचौकी बालुकनामा कार्यरत ४२ वर्षीय असई पुस्कर विष्ट र ३६ वर्षीय हवाल्दार राजबहादुर विष्टले घाइते हुने गरी कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
असार ३ गते पीडित रावतकी पत्नी ४२ वर्षीया हेलु रावत र मुगु जिल्लाको सोरु गाउँपालिका–४ लुमे गाउँकी ३६ वर्षीया असाडी देवकोटा बिच सामान्य विवाद भएपछि छलफलका लागि तुम्चको प्रहरी चौकी बालुकुनामा दुवैपक्ष छलफलका लागि गएका थिए ।
प्रहरीले पीडित भनिएका रावत मदिरा सेवन गरेर चौकीमा आएको असइ बिष्टले बताउनुभयो । आफूलाई असई बिष्टले धकेलेर बाहिर फालेको र प्रहरी हवल्दार राजबहादुरले मुखमा मुक्का प्रहार गरेको रावतको भनाइ छ ।
प्रहरी चौकीमा विवाद भएको भन्ने जानकारी आएकोले घटनाका विषयमा थप अनुसन्धान भइरहेको इन्स्पेक्टर विष्णु श्रेष्ठले बताउनु भयो ।