INSEC Online

📅 २०८३ जेष्ठ २१

वडाध्यक्षद्वारा कुटपिट गरिएको भन्दै प्रहरीमा उजुरी 

 वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वय दीनकर नेपाल र मेघ आलेलाई कुटपिट गरेका छन् ।

आँधी खोला संरक्षण अभियानबाट फर्किएका उनीहरुलाई खनालले वालिङ नगरपालिका–९, सुर्कौदीमा रड प्रहार गरी कुटपिट गरेका हुन् ।

नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किँदै गर्दा रडले टाउकोमा प्रहार गर्दा हेलमेटको सिसा फुटेको र छेक्दा हातमा समेत चोट लागेको नेपालले फेसबुक लाइभमा बताउनुभएकाे छ ।

‘आँधीखोला दोहनविरूद्ध बोल्दै गर्दा वडाध्यक्षले हामीलाई धम्की दिएर निस्केका थिए, पछि अर्का एकजना सहित बाटो छेकेर हामीलाई रडले प्रहार गरे,’ उहाँले भन्नुभयाे, ‘मैले रड हातले छेक्दा हातमा चोट लागेको छ, हेलमेट पनि फुटेको छ।’ आलेलाई भने धकेलेर नालीमा लडाइदिएका थिए ।

आँधीखोला नदीमा गैरकानुनी रूपमा डोजर प्रयोग गरी उत्खनन् गरेको भन्दै उनीहरूले असार ३ गते विरोध कार्यक्रम राखेका थिए।

कार्यक्रममा नदी संरक्षण अभियन्ता आलेले अहिलेका कानुन अनुसार नदीमा डोजर प्रयोग गर्न नहुने र ढुंगा, गिटी, बालुवा जस्ता नदीजन्य पदार्थ निकाल्नुअघि वातावरणीय अध्ययन गर्नुपर्ने धारणा राखेका थिए।

आँधीखोलामा स्थानीय प्रशासन र जनप्रतिनिधिकै मिलोमतोमा गैरकानुनी दोहन भएको भन्दै उनीहरूले आँधीखोला बचाउ अभियान थालेका थिए।

अभियन्ता आले र नेपालविरूद्ध रड प्रहार गरेका वडाध्यक्ष खनाल सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । उनलाई खाेज्न सिआइवीमा ट्रयाकिङका लागि पठाइएकाे छ।

स्याङ्जा प्रहरी प्रमुख दधिराम न्यौपानेले कुटपिटको सूचना प्राप्त हुने बित्तिकै वडाध्यक्ष खनाललाई सम्पर्क गर्दा  नलागेको प्रतिक्रिया दिनुभएकाे छ ।

पीडितहरुले स्याङ्जा प्रहरीमा किटानी वडाध्यक्षविरुद्ध उजुरी दिएका छन् ।

अन्य

भिडियो