INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारको क्रममा एक जना कैदीको मृत्यु, कुटपिटका कारण मृत्युभएको पीडित परिवारको आरोप

जिल्ला कारागार, कैलालीमा कैद भुक्तानका लागि राखिएका डडेल्धुरा जिल्ला भोगेश्वर गाउँपालिका—५ का २८ वर्षीय हरीश पालीको ०८२ असार २ गते राति उपचारको क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको छ ।

मृतक पालिको शरीरभरी निलडाम र टाउँकोमा समेत चोटपटक देखिएकोले कुटपिट गरी हत्या गरिएको मृतकका दाजु जिवन क्षेत्रीको आरोप छ ।

उहाँले भन्नुभयो—घरबाट सकुशल गिरफ्तार गरी ल्याएको हो । घरबाट ल्याएको दुई दिनमै कसरी मृत्यु भयो ? शरीरभरी निलडाम छ । टाउँकोबाट रगत बगेको छ । स्वास्थ्य समस्याले मेरो भाइको मृत्यु भएको हैन् । कुटपिट गरेर हत्या गरेको हामीलाई आशंका छ । घटनाको सत्यतथ्य छानबिन गरिनु पर्छ । हामीले न्याय नपाएसम्म शव उठाउने पक्षमा छैनौँ ।

घटनाको सत्यतथ्य अनुसन्धान गर्न र न्याय तथा क्षतिपुर्तीको मागराखि आफूहरु उजुरी दिने तयारी गरिहेको समेत मृतकका बुवा भोज पालीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

जिल्ला कारागार, कैलाली भित्र बेहोस अवस्थामा भेटिएका पालीको सेती प्रदेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा आसार २ गते राति मृत्यृुभएको जिल्ला कारागार, कैलालीका जेलर बसन्तबहादुर खत्रीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

आदालतको पुर्जी सहित असार १ गते कैद भुक्तानका लागि ल्याइएका पालीले राति खाना खान नमानेर रक्सी चाहियो भन्दै टाउँको, हातखुट्टा भित्तामा ठोक्दा बेहोस हुनुभएको र उपचारका क्रममा मृत्युभएको जेलर खत्रीको भनाइ छ ।

जिल्ला अदालत, कैलालीले लेनदेन मुद्दामा कसूर ठहर गरी १० दिन कैद र २ लाख रुपियाँ जरिवाना तिराउने फैसला सुनाएको र जिल्ला अदालतको आदेश अनुसार फरार कसूरदार पालीलाई गिरफ्तार गरी सकुसल जिल्ला अदालत, कैलालीमा उपस्थित गराइ असार १ गते जिल्ला कारागार, कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी राजकुमार सिंहले बताउनु भयो ।

घटनाका सम्बन्धमा पीडित पक्षबाट हालसम्म उजुरी नआएको र उजुरी आएको अवस्थामा घटनाको थप अनुसन्धान गरिने डिएसपी सिंहले बताउनु भयो ।

लेनदेन मुद्दामा जिल्ला अदातल, कैलालीले ०८० फागुन २९ गते कसूर ठहर गरी पालीलाई १० दिन कैद र २ लाख रुपियाँ जरिवानाको फैसला गरेको थियो । फरार कसूरदार पालीलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले ०८२ जेठ ३० गते घरबाट गिरफ्तार गरेर जिल्ला अदालतमा उपस्थित  गराई असार १ गते अदालतको पुर्जीसहित जिल्ला कारागार, कैलालीलाई बुझाएको थियो ।

घटनाको सत्यतथ्य पत्ता नलागेसम्म र आफूहरुले न्याय नपाएसम्म शव नउठाउने पीडित पक्षको अडानका कारण तीन दिनदेखी शवको पोष्टमार्टम हुन सकेको छैन् । शव सेती प्रादेशिक अस्पताल, धनगढीको शवगृहमा राखिएको छ ।

photo20250618kailali

 

अन्य

भिडियो