INSEC Online

📅 २०८३ जेष्ठ २१

दमकलको अभावले आगलागी नियन्त्रणमा समस्या

बागलुङ जिल्लाका नौ ओटा पालिकामा हालसम्म दमकल सेवा उपलब्ध छैनन्। जिल्ला भित्रका धेरै स्थानहरूमा आगलागी हुँदा दमकलको अभावले धनजनको क्षति हुने जोखिम देखिएको छ। जिल्ला स्तरमा समेत दमकलको व्यवस्था नभएकोले आगलागी नियन्त्रणमा समस्या भइरहेको छ।

बागलुङको गलकोट, ढोरपाटन, जैमिनी लगायतका नगरपालिकाहरुमा दमकल छैन भने, काठेखोला, ताराखोला, निसिखोला, तमानखोला, बढिगाड र बरेङ गाउँपालिकामा पनि दमकलको व्यवस्था छैन।

दमकल अत्यावश्यक भए पनि हालसम्म खरिद गर्न नसकिएको गलकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले बताउनु भयो। नगरपालिकाभित्र चार ओटा एम्बुलेन्स भए पनि दमकल छैन। दमकल आवश्यक छ तर पालिकासँग दमकल खरिद गर्ने र व्यवस्थापन गर्न सक्ने क्षमता नभएको  गौतमले बताउनु भयो।

विपद्जन्य आगलागी नियन्त्रणका लागि आवश्यक उपकरणहरू छैनन्, बजेट अभावले गर्दा ठोस कदम चाल्न नसकेको ढोरपाटन नगरपालिकाका उपाध्यक्ष धनबहादुर कायतले बताउनु भयो।

गाउँपालिकामा एम्बुलेन्स र दमकल समेत नभएको वरेङ् गाउँपालिकाका दिलीप कुमार पुनले बताउनु भयो। केही घटना भइहालेको खण्डमा स्थानीय तौरतरिका अपनाउनु बाहेक अर्को बिकल्प नभएको पुनले जानकारी दिनु भयो।

सन् २०२५ मा मात्रै १२ ओटा आगलागिका घटना भएका थिए। जसमा एक व्यक्तिको मृत्यु हुनका साथै सात घर र आठ गोठ जलेका थिए। आगलागीबाट ३२ लाख ३० हजार रुपियाँ मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका एसपी तिलक भारतीले बताउनु भयो।

अन्य

भिडियो