दाङ ०८२ असार २ गते
लुम्बिनी प्रदेश सरकारले प्रदेशका लैंगिक हिंसापीडित तथा प्रभावितहरुको पुनस्थापना केन्द्र निर्माण गर्न २ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा दाङको घोराहीमा लैंगिक हिंसापीडित र प्रभावितहरुका लागि प्रदेश स्तरीय पुनस्थापना केन्द्र निर्माण गर्न बजेटको व्यवस्थापन गरेको उल्लेख छ । त्यस्तै प्रदेशमा उच्च मातृ तथा नवजात शिशु मृत्युदरलाई कम गर्दै सुरक्षित मातृत्व अभियान अन्तर्गत नि:शुल्क पूर्व प्रसूति सेवा प्याकेज एवं दुर्गम स्थानमा नि:शुल्क हवाइ उद्धार सेवाका लागि लुम्बिनी प्रदेश सरकारले १० करोड रुपियाँ विनियोजन गरेको छ ।
मन्त्री कार्कीले प्रदेशका नागरिकका मुटुको भल्भ प्रत्यारोपण, मिर्गौला प्रत्यारोपण र क्यान्सर रोगको उपचारमा प्रतिव्यक्ति २ लाख रुपियाँ सहुलियत उपलव्ध गराउन १० करोड रुपियाँ विनियोजन गरेको र आँखाको नानीको नि:शुल्क प्रत्यारोपण, डाइलाइसिस सेवाका लागि पनि थप बजेट विनियोजन गरेको बताउनुभयो । यस्तै निःशुल्क वितरण गरिने औषधिका लागि ३ करोड, बालबालिका माथि हुने दुर्व्यवहार, हिंसा, शोषण र भेदभाव एवं बालश्रमको अन्त्य गरी बालमैत्री प्रदेश निर्माण र बालविवाह अन्त्यका लागि विशेष अभियान सञ्चालन गर्न पनि बजेटको व्यवस्था गरिएको छ ।
त्यसैगरी शिक्षामा लक्षित वर्ग र समूदायको पहुँच बढाउन छात्रवृत्तिलगायतका प्रोत्साहनमूलक कार्यक्रमका लागि ७ करोड ५० लाख, उपभोक्ता अधिकारसम्बन्धी सचेतना कार्यक्रमका लागि पनि बजेटको व्यवस्था गरिएको मन्त्री कार्कीले बताउनुभयो । यस्तै कृषि क्षेत्रमा महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्दै सिमान्तकृत, मुक्त कमैया, कम्लरी, भूमिहीन विपन्न घर परिवारलाई आयआर्जन तथा स्वरोजगार कार्यक्रम गर्न १ करोड रुपियाँ विनियोजन गरिएको छ भने सिकलसेल एनिमिया, थाल्सेमिया र हेमोफिलिया रोगबारे सचेतना र स्क्रिनिङका लागि पनि वजेटको व्यवस्था गरिएको छ ।
यस्तै लुम्बिनी प्रदेश सरकारले बालबालिकाको पोषणका लागि ८ करोड, एक घर एक धाराका लागि ७७ करोड ६५ लाख, कृषि उत्पादन र उत्पादकत्व वृद्धि, खाद्य तथा कृषिमा आत्मनिर्भरता हासिल गर्न २ करोड ७० लाख र विपदजन्य समस्या समाधानका लागि ३४ करोड रुपियाँ विनियोजन गरेको छ ।