बुंगल नगरपालिका–९ स्थित केदार माध्यामिक विद्यालय, देउलीकोटका विद्यार्थीहरू केहि वर्षहरूदेखि कठिन परिस्थितिमा पठनपाठन गर्न बाध्यभएका छन् । ३ सय विद्यार्थी अध्ययनरत यस विद्यालयको भवन छत हावाहुरीले उडाएको एक वर्ष बितिसक्दा समेत मर्मत नहुँदा विद्यार्थीहरुको पठनपाठनमा समस्या भएको हो । विद्यालय भवनको मर्मत नहुँदा कक्षाकोठाको अभाव हुँदै आएको विद्यालयका प्रधानाध्यापक लालसिंह पुजाराले बताउनु भयो ।
सात दशक अगाडि स्थापना भएको विद्यालयमा १२ कक्षासम्म पढाइ हुने भए पनि उपयुक्त कक्षाकोठा नभएका कारण दुई ओटा कक्षाका विद्यार्थीहरुलाई एउटै कोठामा राखेर पढाउनु पर्ने बाध्यता छ । केही विद्यार्थीहरू खुला चौरमै पठनपाठन गर्न बाध्य भएकाछन् । विद्यालमा छात्रावास, शौचालय तथा खानेपानीको पनि चरम अभाव रहेको छ । केही भवनका कोठाहरू बनाइए पनि ती पनि वर्षातको समयमा चुहिने गर्छन् ।

विद्यालयमा डेस्क–बेञ्चको अभाव, कक्षाकोठामा बस्नका लागि आवश्यक कार्पेटको समेत व्यवस्था नभएको शिक्षकहरुले गुनासो गर्नुभएको छ । विद्यालयको स्तरउन्नती तथा मर्मत सम्भारका लागि प्रदेश तथा संघीय सरकारसमक्ष पटकपटक अनुरोध गरिए पनि सुनुवाइ भएको उहाँहरुको भनाइ छ ।
कक्षा १० मा अध्यनरत विध्यार्थी ललित बोहराले विद्यालयको अवस्था अत्यन्तै दयनीय रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “विद्यालयमा भवन, डेस्कबेञ्च, शिक्षण सामग्री सबै कुराको अभाव छ । यस्तो अवस्थामा गुणस्तरीय शिक्षा चुनौतीपूर्ण छ । छाना नभएको भवनमा अध्यन गरिरहेका छौँ ।’
बुंगल नगरपालिकाका प्रमुख जयबहादुर धामीले भवन निमार्णको लागि प्रदेश सरकारसँग माग गरेको बताउनु भयो । आगामि आर्थिक वर्षको बजेटमा विद्यालयको भवन निर्माणको लागि बजेट विनियोजन गर्न प्रदेश सरकारसँग माग गरेको उहाँले बताउनु भयो ।