राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार लक्षित बालबालिकालाई लगाउनुपर्ने सम्पूर्ण खोपको मात्रा पूरा भएको सुनिश्चिततासहित कोशी प्रदेशका विभिन्न जिल्ला र स्थानीय तहलाई पूर्णखोप सुनिश्चित जिल्ला र स्थानीय तहका रुपमा घोषणा गरिएको छ ।

ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार लक्षित बालबालिकालाई लगाउनुपर्ने सम्पूर्ण खोपको मात्रा पूरा भएको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो। स्वास्थ्य कार्यालयले ०८२ जेठ २८ गते सदरमुकाम फुङ्लिङमा एक कार्यक्रमकाबिच पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। जिल्ला खोप समन्वय समितिको अध्यक्ष एवम् जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङ्खिम लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा ताप्लेजुङलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। एक नगरपालिका र आठ गाउँपालिकासहित नौ वटा स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तह पूर्णखोप सुनिश्चित घोषणा भएसँगै जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख कुलबहादुर पौडेलले बताउनु भएको छ । पूर्णखोप जिल्ला घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालयका कोल्चेन निरीक्षक दिनेश रायले जिल्लाभरका ७ हजार १२ जना लक्षित बालबालिकाले पूर्ण खोपको मात्रा पाएका छन्। उक्त सङ्ख्यामध्ये जन्मेर १५ महिना सम्मका शिशु १ हजार ७ सय ४ जना र १६ देखि ५९ महिना सम्मका ५ हजार ८ जना भएको बताउनु भयो । लक्षित सबै शिशु तथा बालबालिकालाई आवश्यक खोपको मात्रा लगाएसँगै जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख कुलबहादुर पौडेलले बताउनु भएको छ ।
पाँचथर प्रतिनिधि इवारा जवेगु लिम्बूका अनुसार जिल्लाका पाँच वर्षभन्दा कम उमेरका सबै बालबालिकालाई आवश्यक खोप लगाएको सुनिश्चितता गरी जिल्लालाई ०८२ जेठ २६ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिले फिदिममा एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको हो । जिल्लाभित्रका १५ महिना मुनि उमेरका सबै बालबालिकाले उमेरअनुसारका सबै खोप लगाएको र १६ महिनादेखि ५९ महिनासम्ममा सबै बालबालिकामा १५ महिनाभित्र लगाउनुपर्ने खोप लगाएको सुनिश्चित गरी घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समिति प्रमुख रामराज आङ्देम्बेले १५ महिनाभन्दा कम उमेरका २ हजार २ सय ९५ जना बालबालिकाले उमेर अनुसारका खोप लगाउँदै आएका छन । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरणका लागि जिल्लाका ३७ हजार ४ सय ४५ घरधुरीको घरधुरी सर्वेक्षण गरिएको थियो । जसमा छ हजार ९ सय ३३ घरधुरीमा ५९ महिनाभन्दा कम उमेरका बालबालिका रहेको पहिचान गरी खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइएको थियो ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लाको पौवादुङमा गाउँपालिकाले बालबालिकाको पूर्ण खोपको सुनिश्चिततामा जोड दिएको छ । यहाँका खोप लगाउने उमेर समूहका सम्पूर्ण बालबालिका स्वास्थ्य सेवाबाट बन्चित नहुन भन्नको लागि गाउँपालिकाले खोप सुनिश्चितताको कार्यक्रम सञ्चालन गरेको छ । नेपाल सरकारले सञ्चालन गरेको खोप अभियान पुरा भएपछि पूर्ण खोप सुनिश्चित स्थानीय तहको रूपमा घोषणा गरिएको हो । यो वर्षमा लक्षित उमेर समुहका ४ सय ४४ जना वालबाललिकाले खोपको मात्रा पुरा गनेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्मका बच्चाले सरकारले निर्धारण गरेको खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रकुमार उपाध्यायले बताउनु भएको छ । त्यसैगरी अरुण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिकामा उल्लेख भएका सूचक पूरा गरेपछि ०८२ जेठ तेस्रो साता पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । ६ ओटा वडा रहेको अरुणमा जन्मेदेखि १५ महिनासम्मका १ सय ८५ जना बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ४ सय ९४ जना बालबालिकाले पूर्ण खोप लगाएका छन् । सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा-रूबेला, पोलियो, जापानिज इन्सेफइटिसलगायतका १४ ओटा रोगविरूद्धको खोप निशुल्क उपलब्ध गराउँदै आएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको गाउँपालिका घोषणा गरिएको बताउनु भएको छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जन्मेदेखि ५९ महिना उमेर समूहका ५ सय १४ जना बालबालिकालाई विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम पुर्ण खोपको मात्र पुरा भएकाले फेदाप गाँउपालिकालाई पूर्ण खोप सुनिश्चित गरिएको छ । म्याङलुङ नगरपालिकाकाले पूर्ण खोप सुनिश्चिता घोषणा गरिसकेको छ । सरकारले जन्मेदेखि ५ वर्ष सम्मका बालबालिकालाई १४ वटा रोग विरुद्धको खोप नेपाल सरकारले उपलब्ध गराउदै आएको छ । जिल्लामा ६ वटा स्थानीय तहमध्ये म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकाले आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सुजता बुढाथोकीले बताउनु भएको छ ।